३० पुष,नेपाल टेलिकमले २८ महिना भित्र देशभर फोरजी सेवा संचालनमा ल्याउने प्रतिवद्धता जनाएको छ ।नेपाल टेलिकमले १० औं वार्षिक साधारण सभाको अवसर पारेर आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी २८ महिना भित्र देशभर फोरजी सेवा संचालनमा ल्याउने प्रतिवद्धता जनाएको हो ।

 

 

कार्यक्रममा बोल्दै टेलिकमका अध्यक्ष केदारबहादुर अधिकारीले मूल्यांकन समिति नै बनाएर २८ महिना भित्र देशभर फोरजी सेवा संचालनका लागि आवश्यक काम सुरु गरिएको जानकारी दिए ।सूचना तथा संचार मन्त्रालयका सचिव समेत रहेका उनले नौं महिना भित्र फोरजी सेवाका लागि प्र्राविधिक काम सम्पन्न गरिसक्न पनि टेलिकम व्यवस्थापनलाई निर्देशन दिइएको पनि स्पष्ट पारे ।

 

अध्यक्ष अधिकारीले गुणस्तरीय सेवा दिनका लागि पनि टेलिकम व्यवस्थापनलाई पुनः सचेत गराए । उनले टेलिकम सेवा अन्तराष्ट्रिय सेवाको तुलनामा गुणस्तरीय रहेको दावी समेत गरे । नेपाल टेलिकमले गुणस्तरीय सेवा दिन नसकेको गुनासो आईरहेको छ । अध्यक्ष अधिकारीले आम उपभोक्तालाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउन टेलिकम व्यवस्थापनलाई आवश्यक निर्देशन दिइएको बताए ।

 

 

नेपाल टेलिकमले यस वर्ष १५ अरव ३७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या १७ प्रतिशत वृद्धि हुन गएको पनि टेलिकमले जनाएको छ ।