गृह समाचार जाजरकोटमा फैलिएको रोग ‘सिजनल फ्लु’ भएको पुष्टि

जाजरकोटमा फैलिएको रोग ‘सिजनल फ्लु’ भएको पुष्टि

सेयर गर्नुहोस्

३० पुष,जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको छ ।स्वास्थ्य सेवा विभागको प्रयोगशालामा गरिएको बिरामीको नमुना परीक्षणबाट जुनीचाँदे गाउँपालिकामा फैलिएको रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको हो ।

 

प्रयोगशालामा बिरामीको खकार, सिंगान र र्‍याल परीक्षण गरिएको थियो । परीक्षणमा ए टाइपको ‘एच थ्री एन टु’ भाइरस देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले जानकारी दिए ।

 

उनका अनुसार ५ नमुनामध्ये एउटामा उक्त जीवाणु फेला परेको हो । रोगका कारण १४ जनाको मृत्यु भइसकेको छ । शनिबार रोग प्रभावित क्षेत्रमा औषधिसहित पुगेकी स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले जुनीचाँदेमा फैलिएको रोग सामान्य खालको रुघाखोकी भएकाले आत्तिन नपर्ने बताए । उनले रुघाखोकी जटिल प्रकृतिको महामारी नभएकाले नआत्तिन स्थानीयवासीलाई आग्रह गरे ।

 

 

रोग विस्तारै नियन्त्रणमा आउन थालेको छ । रोग प्रभावित क्षेत्रमा २० भन्दा बढी स्वास्थ्यकर्मी खटाइएका छन् । उपचारका लागि स्वास्थ्य शिविरमा आउने विरामीको संख्या घट्दै गएकाले अबको एक सातामा रोग नियन्त्रणमा आउने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।