२९ पुष,लगातार तेस्रो हारसँगै पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटको नकआउट चरणमा पुग्ने नेपालको सम्भावना सकिएको छ।शनिबार दुबईको अजमानमा भएको खेलमा नेपालले श्रीलंकासँग ३ सय ४० रनको फराकिलो हार व्यहोरेसँगै नेपालको सेमिफाइन यात्रा टुंग्गिएको हो।

 

 

अजमानको ओभल क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १५० रनमै समेटियो।नेपालले पहिलो विकेटका लागि ५३ साझेदारी गरे पनि त्यसपछि लगातार विकेट गुमाएपछि सो स्कोरमा समेटियो।

 

 

नेपालका लागि सुनील थापामगर र रमेश बानियाँले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाएपनि थप १०० रन जोड्दा नेपालले १० विकेट नै गुमाएको थियो।आपसी तालमेल गुमाउँदा नेपालका ६ खेलाडी रनआउट भए। नेपालका लागि बद्री चौलागाईले सर्वाधिक ३७ रनको योगदान दिए। उनले ४७ बलमा ३ चौका प्रहार गरे।

 

 

ओपनर सुनीलले रनआउट हुनुअघि २५ रन बनाए। अर्का ओपनर रमेश पनि २२ रनमा रनआउट भए। राम्रो लयमा देखिएका खिमानन्द गैर १३ रनमा रनआउट भए।नियमित कप्तान किर्तन श्रेष्ठ घाइते भएपछि नेपालको नेतृत्व पदम बडेलाले लिएका थिए। पदमले एक चौकाको मद्दतले ११ रनको योगदान दिए।

 

 

श्रीलंकाको बलिङमा दिमुथु रविन्द्रा, चन्दना देशप्रिया, दामिथ सान्दरुवान र दिनेश माथुगमाले समान १–१ विकेट लिए। लंकन फिल्डरले उत्कृष्ट फिल्डङ गर्दै नेपाली ब्याट्सम्यान रन बटुल्नबाट रोकेका थिए।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरा ओभर नै खेल्दै ४ सय ८४ रनको विशाल स्कोर खडा ग¥यो। यद्यपि, ढिलो ओभर बलिङ फ्याकेपछि नेपालमाथि १२ रनको पेनाल्टी थपिएको थियो।

 

 

श्रीलंकाका लागि दिमुथु रविन्द्राले १ सय ८ रन तथा चन्दना देशप्रियाले १ सय २९ रनको अविजित शतकीय पारी खेले।प्रियन्था कुमाराले ६९ रन र केए सिल्भाले ३२ रन जोड्दै लंकन पारी उकासे। नेपालका बलरले अतिरिक्त ५३ रन दिएपछि श्रीलंकालाई ठुलो स्कोर खडा गर्न मद्दत मिलेको थियो।नेपालको बलिङमा सबै बलर महंगा साबित भए। नेपालका लागि दुर्गादत्त पौडल र सुर्य भट्टराईले समान १ विकेट लिए। नेपालका सबै बलरले १० रनरेट भन्दामाथि खर्चिए।

 

 

नेपालको हारसँगै सेमिफाइनलमा पुग्ने ३ राष्ट्रको टुंगो लागेको छ । भारतले ३ जित तथा पाकिस्तान, श्रीलंका र बंगलादेशले समान २ जित निकालि सकेको छ । नेपालले आइतबार साबिकको विजेता भारतसँग खेल्नेछ।विश्वकपमा अपराजित भारतले शनिबार बंगालदेशमाथि १० विकेटको जित निकालेको थियो ।