
राष्ट्रियसभाको निर्वाचनमा मत बदर हुनबाट रोक्न नेकपा एमालेले आफ्ना मतदाताहरुलाई प्रशिक्षण दिने भएको छ। सातै वटा प्रदेशमा प्रशिक्षण दिने एमालेको तयारी छ।
स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसदहरुले मतदानबाट राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ। स्थानीय तहका प्रतिनिधिको एक मत बराबर १८ तथा प्रदेशसभा सदस्यको १ भोट बराबर ४८ भोटका रुपमा गणना हुने छ।
स्थानीय तहका प्रतिनिधि र प्रदेश सांसदहरुलाई एमालेले प्रशिक्षण दिन लागेको हो। राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट चुनिनेछन्। बाँकी ३ जनालाई सरकारले मनोनयन गर्ने छ।
२ नम्बर प्रदेश बाहेक अन्यत्र प्रष्ट रुपमा एमाले र माओवादीको बहुमत देखिएको छ। दुवै पार्टीले संयुक्त रुपमा उम्मेदवारी दिदै छन्।
एमालेले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार हुनका लागि ६ बुँदे मापदण्ड बनाइसकेको छ। मापदण्डसँगै पार्टीले प्रशिक्षण पनि दिने तयारी गरेको पार्टीका सचिव प्रदीप ज्ञवालीले बताए। एकल संक्रमणिय मत प्रणालीका बारेमा अन्योलता हुन सक्ने भएकाले प्रदेश संगठन कमिटिमार्फत प्रशिक्षण दिइने उनले बताए।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।