पुस २६, इंग्लिस लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्होले मंगलबार बार्सिलनोका खेलाडीसँग भेटघाट गरेका छन् ।

स्वारेज र कोन्टिन्होले लिभरपुलमा सँगै खेलेका थिए । कोन्टिन्होले गोलरक्षक ज्यापर सिलेसेनसँग पनि भेट गरेका छन् । स्वारेजले कोन्टिन्होलाई स्वागत गर्दै सफलताको शुभकामना पनि दिएका छन् । २५ वर्षे ब्राजिलियन कोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बार्सिलोनाले लिभरपुलसँग कोन्टिन्होलाई एक सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्ने विषयमा सहमति गरेको हो ।गएको समर विण्डोमा लगातार तीनपटक प्रयास गर्दा पनि असफल भएको बार्सिलोना जनवरी विण्डोमा भने कोन्टिन्होलाई क्लब भित्र्याउन सफल भएको हो । उनले बार्सिलोनामा अनुबन्ध हुनु सपना विपनामा परिणत भए जस्तै गरेको बताएका छन् ।

कोन्टिन्हो सन् २०१३ को जनवरीमा इन्टर मिलानबाट ८५ लाख पाउण्डमा लिभरपुल आएका थिए । बार्सिलोनाले गएको समर विण्डोमा कोन्टिन्होका लागि अन्तिम पटक एक सय १८ मिलियन तिर्ने प्रस्ताव गरेको थियो । तर त्यो लिभरपुलले अस्वीकार गरेको थियो ।