उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले मुलुकमा अब वाम गठबन्धनको नेतृत्वका नयाँ सरकार निर्माण हुने बताएका छन् । बुधबार राजधानीमा रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने स्पष्ट पारे ।

मन्त्री थापाले चुनाव सम्पन्न हुने बित्तिकै सरकार गठन हुनुपर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भीर भूल गरेकोले अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको बताए । उनले भने, ‘अहिले देखिएको संवैधानिक जटिलताहरुमा हामीले संविधान जारी गर्दा पर्याप्त ध्यान दिइएन, खासगरी चुनाव सम्पन्न भएपछि नयाँ सरकार गठन हुनुपर्ने हो, तर ठूला दलहरुले सिर्जना गरेको जटिलताका कारण नयाँ सरकार गठनमा ढिलाई भयो, अबचाहीँ मुलुक सरकार निर्माणको ट्रयाकमा हिँडेको छ, राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसदले पूर्णता पाउँछ, संसदले पूर्णता पाएको एक हप्ताभित्रै नयाँ सरकार गठन हुन्छ ।’

थापाले सरकार गठनमा भएको ढिलाईप्रति कसैले कसैलाई दोष लगाउन आवश्यक नरहेको जिकिर गरे । जनताको म्याण्डेटअनुसार वाम गठबन्धनको सरकार नबने मुलुकमा फेरि राजनीतिक अस्थिरता ल्याउने र मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउन बाधा उत्पन्न हुने उल्लेख गर्दै थापाले भने, ‘जनताको म्याण्डेट अनुसार नै वाम गठबन्धनको सरकार बनाउनुपर्छ, हामी यही चाहन्छौ।’

मन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नको लागि गम्भीर र महत्वपूर्ण प्रयास गरेको मन्त्री थापाले बताए ।  राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले पार्टीले यो पटकको निर्वाचनमा कल्पना समेत नगरेको परिणाम व्यहोरेको स्पष्ट पारे ।