हेटौंडा, २५ पुसरनेपाली काँग्रेस मकवानपुरका सभापति, मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा मनहरी गाउँपालिका ४ नयाँबस्तीमा कम्बल वितरण गर्नुभएको छ ।
बाढीबाट विस्तापित भएर नयाँबस्तीको जंगलमा आश्रय लिएर बसिरहेका बनकरिया, प्रजा, तामाङलगायतका ३ सय १५ परिवारलाई स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा कम्बल वितरण गर्नुभएको हो ।

जाडोमा कठ्याङग्रिएर रात विताउन बाध्य मनहरी गाउँपालिका ४ स्थित अजिङ्गरे, चिसापानी, च्वारपाखा, लामपाखा, बनकरिया र डोलबारी टोलका ३ सय १५ परिवारलाई कम्बल वितरण गर्नुभएको हो ।

कम्बल वितरण कार्यक्रममा बोल्दै पूर्व गृह राज्यमन्त्री बानियाँले आफूले पहिले बाढीबाट विस्थापित हुने वित्तिकै त्रिपाल, म्याटलगायत खाद्यबस्तु पनि वितरण गरेको र अहिले जाडोमा थोरै भएपनि मद्दत पुगोस् भनेर कम्बल वितरण गर्न आफू आएको बताउनुभयो ।
बानियाँले यहाँका विस्थापित परिवारलाई जतिसक्दो चाँडो गाउँपालिकासंग समन्वय गरेर स्थायी बसोबासको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पूर्व गृहराज्यमन्त्री बानियाँले केही दिनभित्रै अन्य विकट राक्सीराङ गाउँपालिका र मनहरी गाउँपालिकाको दिल्लीपुर, बसन्तपुरका विपन्न चेपाङ तथा बनकरियाहरुलाई थप ३ सय कम्बल वितरण गरिने बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका महासमिति सदस्य भरत पराजुली, शिक्षक संघका सचिव विदुर थापा, काँग्रेसका स्थानीय नेताहरु पवन खड्का, साविक हाँडीखोलाका काँग्रेस सचिव हरिकृष्ण विष्ट, विष्णु विष्ट, उद्धव विष्टलगायतको उपस्थिति रहेको थियो ।