file

२५ पुस,अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ ।प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनसनमा बसेका डा. केसीलाई सोमबार सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका केसीलाई कडा सुरक्षाका बीच प्रहरीले बुधबार पौने नौ बजे नै सर्वोच्च अदालतमा उपस्थित गराएको हो ।अदालतको अवहेलना गरेको ठहर भए केसीले एक वर्षसम्म जेल बस्नुपर्ने हुन्छ । न्याय प्रशासन ऐन, २०७३ मा अदालतको अपहेलनासम्बन्धी मुद्दामा के गर्ने भन्ने विषयमा व्यवस्था गरिएको छ । ऐनको दफा १७ मा अदालतको अपहेलनासम्बन्धी मुद्दाका बारेमा उल्लेख छ ।

ऐन अनुसार अदालतको अपहेलना मुद्दामा दोषी ठहर हुने व्यक्तिलाई एक वर्ष जेल सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै अरु उपयुक्त कारवाही गर्न सक्ने व्यवस्था पनि ऐनमा छ । तर दोषीले अदालतलाई चित्त बुझ्नेगरी माफी मागेमा कारवाही मुद्दा तामेलीमा राख्न सकिने पनि ऐनमा उल्लेख छ ।

यस्तै, दोषी ठहर भइसकेपछि पनि दोषीले अदालतलाई चित्त बुझ्ने गरी माफी मागेमा कारवाही रोक्न सकिने ऐनमा व्यवस्था गरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिएको थियो । अदालतको अवहेलना मुद्दामा केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा सर्वोच्चले आदेश दिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतले करिब साढे ४ बजे केसीलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका नाममा पक्राउ आदेश दिएको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोलीले केसीलाई पक्राउ गरेको हो ।

डा. केसीले आफूलाई जेलमा राखिए त्यहीँ अनसन बस्ने चेतावनी दिएका छन् ।डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा बिहानैदेखि प्रदर्शन शुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् ,माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायत सहभागी भए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् । प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् ।