२३ पुष,एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा नौजनाको मृत्यु भएको छ। दुई सयभन्दा बढी बिरामी परेका छन्। मृत्यु हुनेमा पाँच बालबालिका र चार वृद्धवृद्धा छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका फोकल पर्सन खेम पुनका अनुसार सदरमुकामभन्दा २३ कोस टाढाको जुनीचाँदे गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप देखिएको हो।
अहिलेसम्म मृत्यु हुनेमा जुनीचाँदे–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षका सतरूप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरबायाँ टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीको पाँच दिनका छोरा, शान्तबहादुर शाहीको दुई महिनाका छोरा, मानबहादुर विकका पाँच महिनाका छोरा, काले दमाईंको सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षकी छोरी कविता र एक नाम नखुलेको बालक रहेको स्वास्थ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए।
रुघाखोकी र भाइरल ज्वरो फैलिएको एक साता बित्दा पनि प्रभावित क्षेत्रमा औषधि र चिकित्सक पुग्न नसकेका खबर आजको नयाँ पत्रिका दैनिकमा जाजरकोटबाट हेमन्त केसीले लेखेका छन्। ‘जिल्लाबाट औषधि लिएर गएका स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्,’ सिंहले भने। प्रभावित क्षेत्र दुर्गम भएका कारण महामारीको खबर बाहिर आउन ढिलाई भएको उनले बताए।
झारफुकमा लाग्दा ज्यान गयो
विरामी हुनासाथ स्वास्थ्य संस्था जानुभन्दा धामीझाँक्रीको भर परेकाले नौजनाको मृत्यु भएको स्वास्थ्यकर्मीको भनाइ छ। जिल्लाको जुनीचाँदे गाउँपालिका–१ अन्तर्गत जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, मजकोट, आलीमौगाना, डाँडाकोट र परालेमा भाइरल ज्वरोका बिरामी बढी देखिएका छन्। विरामीमा घाँटी दुख्ने, सुख्खा खोकी लाग्ने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउनेलगायतका समस्या देखिने गरेको छ।
स्वास्थ्य संस्था जनताको पहुँचभन्दा टाढा
भाइरल प्रभावित क्षेत्र स्वास्थ्य संस्था मजकोटभन्दा टाढा रहेकाले उपचारमा समस्या देखिएको छ। सदरमुकामबाट टाढा भएका कारण औषधि लिन जान समय लाग्ने गर्दछ। रोग प्रभावित क्षेत्रमा छिटो उपचारको व्यवस्था मिलाउन पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग आग्रह गरेका छन्।
एउटै घरका तीन चार बिरामी, परीक्षा प्रभावित
जुनीचाँदे गाँउपालिका–२ मजकोटमा धेरै बिरामी परेका छन्। एउटै घरमा ३–४ जना बिरामी परेको स्थानीय काशीराम न्यौपाने बताए। छेडागाडका सुवानाउली र टीकाचौरमा रुघाखोकीका बिरामी धेरै छन्। बारेकोट गाउँपालिका–५ मा भाइरल ज्वरोले विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रधानाध्यापक मनबहादुर सिंहले बताए। विद्यार्थी नआउँदा परीक्षासमेत प्रभावित भएको छ।
भाइरल ज्वरोको प्रकोप फैलिएको गाउँमा ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा गएका छन् । ‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले भने, ‘एचवानएनवान हो कि भनेर टेस्ट किड पठाएका छौँ।’
इन्फ्लुएन्जाको आशंकामा सेम्पल काठमाडौं मगाइयो
जाजरकोटमा फैलिएको भाइरल ज्वरोलाई सरकारले सिजनल इन्फ्लुएन्जा (एचवानएनवान) को आशंका गरेको छ। बिरामीमा देखिएको लक्षण एचवानएनवानसँग मिल्दोजुल्दो भएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिरामीको रगत (सेम्पल) काठमाडौं मगाएको छ।
महाशाखा निर्देशक डा.भीम आचार्यले जाजरकोटमा फैलिएको भाइरल ज्वरोबारे शनिबार मात्रै जानकारी पाएको भन्दै बिरामीको रगत तत्काल काठमाडौं पठाउन निर्देशन दिएको बताए। ‘बिरामीको अवस्था हेर्दा सिजनल इन्फ्लुएन्जा (एचवानएनवान) जस्तो देखिएको छ,’ उनले भने, ‘तर रगतको परीक्षण नगर्दासम्म के भएको हो भन्न सकिन्न।’
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।