२३ पुष,पछिल्लो केही दिनयता अत्यधिक चिसोले जनजीवन थप कष्टकर बन्दै गएपछि सप्तरीका सामुदायिक विद्यालय थप चार दिनका लागि बन्द गरिएको छ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले सप्तरीसहित तराईका जिल्लामा शीतलहरसँगै बढेको जाडोका कारण विद्यालय जाने बालबालिकालाई समस्या भएकाले आइतबारदेखि चार दिनसम्मका लागि सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भएको बताए। यसअघि बिहीबार र शुक्रबार दुई दिन यहाँका विद्यालय बन्द गरिएको थियो। जिल्लामा ४१२ सामुदायिक विद्यालय छन्।
यस्तै जिल्लाका निजी विद्यालयसमेत आइतबारदेखि तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको प्याब्सनका अध्यक्ष पञ्चदेव यादवले बताए।
सिरहाका विद्यालय माघ १ सम्म बिदा
लहान – अत्यधिक चिसो र शीतलहर बढेपछि सिरहाका सामुदायिक विद्यालयमा बिदाको समय थप एक साता बढाइएको छ। जिल्ला शिक्षा कार्यालय सिरहामा बसेको शिक्षा समितिको बैठकले अत्यधिक चिसो बढेका कारण बालबालिका बढी प्रभावित भएकाले माघ १ गतेसम्मका लागि सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको हो।
शिक्षा समितिले पहिलो पटक तीन दिनका लागि सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरे पनि मौसममा सुधार नआएकाले एक साता विद्यालयमा बिदा दिने निर्णय भएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए।
केही दिनयता बढेको शीतलहर र चिसोका कारण सिरहा जिल्लाको जनजीवन कष्टकर बनेको छ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्। सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। दूधे बालकदेखि ६० वर्षसम्मका मानिस निमोनियालगायत प्रकोपबाट पीडित भएका छन्।
पछिल्लो एक सातायता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको तथा सरकारी कार्यालयमा सेवाग्राहीको संख्या ह्वात्तै घटेको छ। चिसोले बिरामी परेका दैनिक करिब ४० देखि ५० जनासम्म उपचारका लागि आउने गरेको सिरहा जिल्ला अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए।रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।