२३ पुष, शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरी रहेका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिए।

ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।

यसैगरी केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ स्थित मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ।हनुमाननगर कंकालनी नगरपालिका क्षेत्रका मुसहर बस्तीमा जाडोबाट बच्नको लागि कम्बलसमेत नहुँदा जनजीवन निकै कष्टकर बनेको स्थानीय श्रवण सदाले बताए। गाउँका करिब ५०÷६० घरका दलित बालबालबालिका र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएका छन्।

चिसो हावासँगै बढेको अत्यधिक जाडोका कारण काम गर्न समेत जान नसकेकेको हनुमाननगर कंकालनी नगरपालिका–२ का नरेश सदाले गुनासो गरे। चिसोले न्यून आय भएका नागरिकको दैनिक जीवन कष्टकर बने पनि स्थानीय प्रशासनले त्यसप्रति कुनै चासो देखाएको छैन।