पाकिस्तानी विदेशमन्त्री ख्वाजा आसिफ

२२ पुष,पाकिस्तानी विदेशमन्त्री ख्वाजा आसिफले अमेरिका ‘सँधै धोका दिने साथी’ भएको आरोप लगाएका छन्। अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्,‘अमेरिकाको व्यवहार न त सहयोगीको छ, न मित्रको जस्तो,’ बिहीबार मन्त्री आसिफले भने, ‘अमेरिका त्यस्तो मित्र हो, जसले सँधै धोका दिन्छ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानले सहयोगको बदलामा ‘झुठ र धोकाबाहेक केही नदिएको’ आरोप लगाएलगत्तै सहयोग गरिएको हो।यो अमेरिकी निर्णयपछि पाकिस्तानमा अमेरिकाविरोधी भावना बढेको बताइएको छ। केही विश्लेषकहरुले पाकिस्तानको आगामी चुनावमा पहिलो पटक अमेरिका विरोध एक चुनावी मुद्दा बन्ने देखिएको बताएका छन्।

लाहौरसहित केही स्थानमा अमेरिकी झण्डा जलाइएका छन् भने स्थानीयले आफूहरु ‘घाँस खान तयार रहेको’ अभिव्यक्ति दिएका छन्।‘यदि हाम्रा नेताहरु इमानदार भएर अमेरिकीहरुविरुद्ध निर्भिक निर्णय लिए भने हामी घाँस खान पनि तयार छौँ,’ उत्तर–पश्चिमी सहर पेसावरका एक व्यापारी जलाल नुर खान भन्छन्।

विपक्षी नेता इमरान खानले त अमेरिकी सम्बन्धबाट पाकिस्तान अलग हुनुपर्ने समय आइसकेको कडा टिप्पणी पनि गरेका छन्।उनले एक वक्तव्य जारी गर्दै पाकिस्तानमा अमेरिकालाई दिइँदै आएको कूटनीतिक, गैह्रकूटनीतिक र गुप्तचर सहुलियत खारेज गर्नुपर्ने पनि बताएका छन्।

अफगानिस्तानमा तैनाथ अमेरिकी तथा अन्य विदेशी सेनाका लागि आपूर्तिको मुख्य मार्ग पाकिस्तान रहँदै आएको छ। हवाइ तथा सडक मार्गबाट ती सैनिकका लागि आपूर्ति गरिँदै आएको छ। यदि पाकिस्तानले त्यो मार्ग रोकिदिने हो भने अमेरिका संकटमा पर्ने र त्यसको विकल्प खोज्न बाध्य हुने विश्लेषण गरिएको छ।

यद्यपि त्यसको सम्भावना नरहेको अमेरिकी रक्षामन्त्री जिम म्याटिसले दाबी गरेका छन्।सहयोग रोक्काको बदलामा पाकिस्तानले चाल्ने सम्भावित कदम र त्यसले अमेरिकालाई पार्ने जोखिम न्युनीकरणको उपाय भइरहेको ट्रम्प प्रशासनका एक अधिकारीलाई उधृत गर्दै रोयटर्सले जनाएको छ। एजेन्सी