पुस २१,संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तिनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज बिहान कार्यकर्तासँगको भेटका क्रममा उहाँले अन्य धेरै ठाउँमा संवैधानिक जटिलता रहेकाले संविधान संशोधन गरेमात्रै मुलुकले निकास पाउन सक्दछ भन्नुभयो ।आफूहरुले बारम्बार संविधान त्रुटिपूर्ण रहेको बताउँदै आए पनि बलजफ्ती जारी गरेको कारण समस्या आएको समेत अध्यक्ष यादवले आरोप लगाउनुभयो ।

संविधानमा रहेको त्रुटिपूर्ण व्यवस्थाकै कारण निर्वाचन परिणाम आइसक्दा पनि सरकार गठनमा ढिलाइ भएको समेत उहाँले टिप्पणी गर्नुभयो । सरकार गठनमा देखिएको संवैधानिक अड्चनपछि जबर्जस्ती संविधान जारी गर्ने तिनै दलका नेताहरुले संविधानमा त्रुटि रहेको कुरा स्वीकार गरिरहेको उहाँको भनाइ थियो ।उहाँले मुलुकमा राजनीतिक स्थिरताका लागि सबै दल मिलेर संविधान संशोधन गर्नु नै एकमात्र विकल्प भएको जिकिर गर्नुभयो ।

‘‘प्रदेश २ का जनताले पनि संविधानमा त्रुटि रहेको कुरा निर्वाचनमार्फत व्यक्त गरिसकेकाले संशोधन अपहरिहार्य छ’’ अध्यक्ष यादवले भन्नुभयो । सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले सप्तरी जिल्लाको विकास हुन नसक्नुको मुख्य कारण विगतका सरकार भएको समेत आरोप लगाउनुभयो ।रासस