२१ पुष,सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते तोक्ने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठक निर्वाचन आयोगको सिफारिश अनुसार माघ २४ गते राष्ट्रिय सभाको चुनाव गर्ने निर्णय गर्न लागेको  बालुवाटार जानकारी दियो।अघिल्लो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।निर्वाचन आयोगले माघ २५ गतेसम्म चुनाव गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो।

आयोगले मिति तोक्नुभन्दा पहिला प्रदेश प्रमुख नियुक्त गर्न पनि सरकारलाई आग्रह गरेको थियो।स्रोतका अनुसार दलहरूबीच सहमति हुन नसकेपछि प्रदेश प्रमुखको नियुक्ति गर्न भने अझै केही दिन लाग्ने छ।बिहीबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिका अाधारमा प्रदेश प्रमुख नियुक्त गर्न प्रस्ताव गरेका थिए।

एमालेले प्रदेश प्रमुख नियुक्त गर्ने अधिकार संविधानले सरकारलाई दिएको भन्दै सहमतिमा चासो देखाएको थिएन।