file photo

१९ पुष,मुलुकमा रु एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ।नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २५२ वटा कम्पनीमा उक्त रकम लगानी भएको हो।लगानी गरिएका उद्योगमा ३७ वटा उत्पादनमूलक उद्योग छन् भने ११ वटाले मात्र निर्यातजन्य सामग्री उत्पादन गर्दैै आएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘निर्यात प्रवद्र्धन’ विषयक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले द्रुत गतिमा उपभोग हुने उपभोग्य सामग्रीको अधिक व्यापार हुने गरेको र त्यस्ता आठवटा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी रहेको बताए।

तीनवटा उद्योगले पनि निर्यातजन्य सामग्री उत्पादन गरिरहेका जानकारी दिँदै उनले उपभोग्य सामग्री उत्पादन गर्ने आठ र तीनवटा उत्पादनमुखी उद्योगले मात्र निर्यात व्यापार गर्दै आएका बताए।

कार्यक्रमका अधिकांश वक्ताले भारतसँगको स्थिर मुद्रा सटही प्रणाली पुनरावलोकन हुनुपर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, उद्यमशीलता विकासका निम्ति निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने प्राविधिक एवं भौतिक पूर्वाधारको पर्याप्त उपयोग हुनुपर्ने र तिनको निर्माणमा राज्यले जोड दिनुपर्ने बताए ।

अलैँची, अदुवा, चियाजस्ता निर्यातजन्य कृषि उपज भारतमात्र होइन अन्य मुलुकतर्फ निकासी गर्नेगरी ठूलो परिमाणमा उत्पादन गर्नुपर्ने तथा गलैँचा, तयारी पोशाक र पश्मिनाको बजारीकरणमा आक्रामक ढंगले लाग्नुपर्ने आवश्यकता उनीहरुले औँल्याएका थिए।रासस