मनहरी–बहुप्रतिक्षित मनहरी–चैनपुर सडक निर्माण कार्य केही दिन काम गरेर स्थगन भएको छ ।
राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरलाई महेन्द्रराजमार्गको मनहरी बजारबाट जोड्ने गरी सडक निर्माण थालिएको थियो । गाउँपालिकाले बिनियोजित बजेट ५८ लाख ५० हजार खर्च हुने गरी बाटो निर्माण थालिएको थियो ।
केही दिनअघिबाट बाटो निर्माण थालिएकोमा गाउँ कार्यपालिकाले उक्त खण्डमा केन्द्रीय बजेट बजेट बिनियोजित भई टेण्डर प्रक्रिया सकिएको र तुरुन्तै काम सुरु हुने भएकाले तत्कालका लागि काम रोक्न पत्राचार गरेको हो । कार्यपालिका निमित्त प्रशासकीय अधिकृत चुननारायण श्रेष्ठद्वारा हस्ताक्षरित पत्र पाएपछि काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खुसीलाल प्रजाले बताए ।
तत्कालीन जिल्ला विकास समितिले मनहरी–चैनपुर खण्डको आँपखोल्सीमा एक करोड बढी लगानीमा फलामे पुलको लागि बजेट बिनियोजन गरी टेण्डर समेत गरेको थियो । तर, गत आर्थिक बर्षमा उक्त पुल सम्पन्न गर्नका लागि टेन्डर प्रक्रियामा कोही पनि सहभागी नभएकाले काम सुरु भएको थिएन । अहिले टेन्डर प्रक्रिया सकिएर उक्त खण्डमा निर्माण कार्य सुरु हुने अबस्था रहेकाले गाउँपालिका अन्तर्गतको योजना रोकिएको जनाइएको छ ।
केन्द्रीय बजेटको कार्यान्वयनपछि बाँकी रहेको काम सम्पन्न गर्नका लागि उपभोक्ता समितिसँगको समन्वय र सल्लाहमा गाउँपालिकाद्वारा बिनियोजित बजेट उपयोग गरिने गाउँपालिकाले जनाएको छ ।
मनहरी डटकमबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।