file photo

१८ पुस,मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य लागि झापाबाट उम्मेदवारी दिएका चार जना शीर्ष नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा मंसिर २७ गते मतगणना सकिएदेखि ३५ दिनभित्र अर्थात माघ ३ गतेसम्म उम्मेदवारले चुनावी खर्च विवरण पेस गर्नुपर्ने हुन्छ ।

सोहीअनुसार प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ जना उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यले चुनावी खर्च विवरण बुझाएका हुन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका शीर्ष नेतातर्फ झापा क्षेत्र नम्बर– ५ बाट उम्मेदवारी दिएका एमाले अध्यक्ष केपी शर्मा ओली, झापा– ३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला, झापा– १ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की राम र नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफ्नो चुनावी खर्च विवरण पेस गरिसक्नु भएको छ ।

 

एमाले अध्यक्ष ओलीले २४ लाख एक हजार १६०, कांग्रेस नेता सिटौलाले २२ लाख ६८ हजार, माओवादी केन्द्रका नेता कार्कीले २४ लाख १० हजार र कांग्रेस नेता शर्माले २१ लाख ६८ हजार रुपैयाँको खर्च विवरण बुझाउनु भएको छ ।रासस