file photo

१८ पुस । निर्माणाधीन नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबार रातिदेखि दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ । निर्माणको कामलाई गति दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने आयोजनाले जनाएको छ ।

१२ पुसमा जिल्ला प्रशासन कार्यालयमा ठेकेदार र आयोजना प्रमुखसहित बसेको प्रशासनको बैठकले १८ पुसदेखि सडक बन्द गरी कटिङको काम थाल्ने निर्णय गरेको थियो । दिउँसोको समयमा कटिङको काम गर्दा यातायात आवागमन अस्तव्यस्त हुने भएकाले रातिको समयमा आवश्यक वत्तीको प्रवन्ध गरी काम अघि बढाउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

कटिङको काम बाँकी भएका स्थानहरु १६ किलो, २२ किलोमा ठेकेदार आफैंले लाइटको व्यवस्था गरी कटिङको काम आज रातिबाट नै शुरु गर्ने भएका छन् । २९ किलो र ३३ किलोमा विद्युत प्राधिकरणको समन्वयमा आवश्यक लाइटको प्रवन्ध गरीसकिएको सूचना अधिकारी शिव खनालले बताए ।सडकखण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी नै छ ।

यसरी मिलाइँदै छ ट्राफिक व्यवस्थापन

रातिमा सडक बन्द हुने भएपछि काठमाडौंबाट आउने रात्री बसहरुलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न ट्राफिक प्रहरीले यातायात व्यवसायी राष्ट्रिय महासंघ मार्फत अनुरोध गरिसकेको छ । सो बेलाभन्दा ढिला गरेर आउने बस र साना सवारीलाई मुग्लिन बजारमा र ट्रकहरुलाई लेवाटारमा रोक्ने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

यस्तै तनहुँतर्फबाट आउने सवारी साधनहरुमध्ये बसलाई मुग्लिनमा र अन्यलाई आँबुखैरेनीतर्फ नै रोक्ने गरी समन्वय गरिएको छ ।

नारायणगढबाट काठमाडौं र पोखरा लगायतका क्षेत्रमा जाने सवारी साधनमध्ये बस र साना सवारीलाई दासढुंगाको मदन आश्रित पार्क नजिक र ट्रकहरुलाई रामनगरको ओरालो नजिकको भतेरी जंगलमा एकतर्फी बनाएर रोकिने ट्राफिक प्रहरी प्रमुख पन्तले जानकारी दिए ।त्यहाँ ट्रक नअटाएमा केन्द्रीय बस टर्मिनल भरतपुरको खाली चौरमा रोकिने उनले बताए

म्याद थप्ने तयारी

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले चैत महिनाभित्र एकसरो पिच निर्माणको काम गरिसक्ने गरी ठेकेदार कम्पनीको म्याद थप गरिने जानकारी दिए ।

आयोजनाको हालसम्म ६७.६७ प्रतिशत काम सम्पन्न भएको छ । आँपटारीदेखि दासढुंगासम्मको निर्माणको जिम्मा पाएको भारतीय वीएलए तथा नेपाली श्रेष्ठ कम्पनीले ६८ प्रतिशत, दासढुंगादेखि सिमलतालसम्म निर्माणको ठेक्का पाएको उड्हिल लामा जेभीले ७४ प्रतिशत र सिमलतादेखि मुग्लिनसम्मको सडक निर्माण जिम्मा पाएको सुप्रिम रौताहा निर्माण कम्पनीले ६१ प्रतिशत काम सकेका छन् । तीनवटै ठेकेदारहरुको म्याद फेब्रुअरी २० मा सकिँदै छ । म्याद थपको लागि ठेकेदारहरुले आयोजनालाई दबाव दिन थालेका छन् ।

विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा २०७२ बैशाखबाट यो सडक निर्माणको काम थालिएको थियो ।लामा उड्हिल जेभीका कन्ट्रयाक्ट म्यानेजर रविन्द्र श्रेष्ठले आयोजना समयमा निर्माण हुन नसक्नुमा प्रयाप्त समय काम गर्न नपाएको दावी गर्दछन् ।