१७ पुष,‘नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान राजधानीमा र्याली निकालेका छन्। माइतीघरबाट सुरु भएको र्याली भद्रकाली-न्युरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो।
र्यालीमा नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता थियो। सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झन्डा बोकेका थिए। राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको सुरुआत गरिएको बताए। उनले नेपालीको पहिचान गुमिरहेका बेला सरकारले नै ढाका टोपी दिवस मनाउनुपर्ने विचार व्यक्त गरे।
पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ। पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि चार वर्षदेखि र्याली नै निकालेर दिवस मनाउन थालिएको पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।