नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबारको हवाइ र रेलसेवा अवरुद्ध भएको छ । राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले बताएका छन्।
गत हप्तादेखि नै नयाँ दिल्लीमा हुस्सु लागेको थियो। हुस्सुको मात्रा आइतबार बिहानदेखि झन् बढ्न पुग्यो। हुस्सुकै कारण नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान भर्नुपर्ने १२ वटा उडान अवरुद्ध भएका छन्।सोमबार बिहान उक्त विमानस्थलमा पाँच वटा आन्तरिक र सात वटा अन्तर्राष्ट्रिय उडानहरु अवरुद्ध भएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन्।
बाटो नदेखिनेगरी लागेको हुस्सुले गर्दा नयाँ दिल्लीको रेलसेवा पनि अवरुद्ध भएको छ। नयाँ दिल्ली रेलवे स्टेसन र पुरानो दिल्ली रेलवे स्टेसनका करिब ९० वटा रेलसेवा सोमबार बिहान अवरुद्ध भएको बताइएको छ । नयाँ दिल्लीभरका करिब ५६ वटा रेल सेवालाई ढिला गरिएको, २० वटाको समय परिवर्तन गरिएको र १५ वटा रेलसेवा रद्द नै गरिएको उत्तरी रेलसेवाका अधिकारीले जनाएका छन्।
उत्तरी भारतमा जाडो याममा, डिसेम्बर र जनवरीमा हुस्सु लाग्ने क्रम निरन्तर जस्तो हुँदै आएको छ। पछिल्ला वर्षहरुमा यहाँ बढ्दो प्रदूषणका कारण हुस्सु लाग्ने गरेको बताइन्छ।रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।