१६ पुस, सन् २०१७ को आज अन्तिम दिन । सोमबारदेखि अंग्रेजी नयाँ वर्ष २०१८ लाग्दैछ । सन् २०१७ मा विश्व राजनीतिमा धेरै उतार चढाव आए । विशेष गरी चीन, उत्तर कोरिया, रुस र अमेरिकाका राष्ट्रप्रमुख वर्षैभरि चर्चामा रहे ।

सन् २०१७ मा अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भए भने अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले लगातार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण जारी राख्यो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जङ(अन आरोपप्रत्यारोपमा अल्झिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्व मानचित्रमा थप शक्तिशाली भएर निस्के । विरोधका माझ अर्बपति व्यापारी ट्रम्प अप्रत्याशित रुपमा अगाडि बढे र अमेरिकाको ४५ औं राष्ट्रपति बनेर ह्वाइट हाउस पुगे ।

राष्ट्रपति निर्वा्चित भएपछि उनले कैयौँ विद्यमान मापदण्डहरुलाई चुनौती दिए अनि कतिपय यस्ता निर्णय गरे जसका कारण विवाद उत्पन्न भयो । अमेरिकाका कैयौँ शहरमा मानिसहरु सडकमा उत्रिएर नवनिर्वा्चित राष्ट्रपतिको विरोधमा प्रदर्शन गरे । राष्ट्रपति चयन भएपछि ट्रम्पले इस्लामिक अतिवादविरुद्ध विश्वलाई एकजुट बनाउने र त्यसको अन्त्य गर्ने बताए ।

राष्ट्रपति बनेको एक वर्षभित्र ट्रम्पले कैयौँ बहुपक्षीय संगठन तथा सम्झौताबाट बाहिरिने निर्णय गरे जस्तो कि जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय । संघीय अनुसन्धान निकाय एफबीआइको प्रतिष्ठा ‘धुजाधुजा’ भएको टिप्पणी गरेका ट्रम्पले शीतयुद्धकालदेखि अमेरिकाको शत्रु ठानिने रुससँग मित्रता बढाए ।

निर्वाचनअघि ट्रम्पको चुनावी अभियान समूहले रुसी अधिकारीहरुसँग सम्पर्क गरेको र चुनावमा मस्कोसँग साठगाँठ गरेको भन्ने आरोप ट्रम्पले अस्वीकार गर्दै आएका छन् । त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका ट्रम्पले चुनावमा मस्कोले हस्तक्षेप गरेको भन्ने आरोपबाट पुटिनले अपमानित महसूस गरेको बताएका थिए ।

सन् २०१७ शुरु नहुँदै अमेरिकी गुप्तचर निकायहरुले राष्ट्रपतीय चुनावमा मस्कोले हस्तक्षेप गरेको आरोप लगाएका थिए । त्यसपछि अमेरिकादेखि स्पेनसम्म र हालै क्याटलोनियामा देखिएको संकटमा रुसको छाया परेको देखिएको थियो । यद्यपि पुटिनले ती आरोपहरुको खण्डन गर्दै आएका छन् ।

विगत केही वर्षदेखि चीनले अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बढाउने प्रयास गरिरहेको छ र अन्तर्राष्ट्रिय महत्वका मुद्दामा उसले आफ्ना धारणा राख्दै आएको छ । राष्ट्रपति सीले त्यो अवस्थाले आउँदा दिनहरुमा निरन्तरता पाउने पुष्टि गरिसकेका छन् । हालैको एउटा भाषणमा उनले भनेका थिए, ‘चीन एउटा नयाँ युगमा प्रवेश गरिसकेको छ, जहाँ हामीले विश्वको केन्द्रीय मञ्चमा आफ्नो स्थान लिनुपर्छ ।’

आफ्नो शक्ति र अन्तर्राष्ट्रिय प्रभावका कारण चीन सन् २०५० सम्ममा ‘विश्व नेता’ बन्ने सीले उदघोष गरेका छन् । त्यो दिशातर्फ चीनले काम अघि पनि बढाइसकेको छ, जस्तो कि द सिल्क रोड भनिने प्राचीन रेशममार्ग फेरि ब्युताउने र एसियाली पूर्वाधार लगानी बैंक स्थापना गर्ने ।

उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्रको तेस्रो परीक्षण र्गयो र त्यो कोसेढुंगा भएको बतायो । त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जङ उनले पछिल्लो परीक्षणले सिंगो अमेरिका उत्तर कोरियाको पहुँचभित्र रहेको पुष्टि गरेको बताएका थिए ।

उत्तर कोरियाली दाबीप्रति शंका भए पनि विज्ञहरुले भविष्यमा प्योङयाङले आफ्नो लक्ष्य हासिल गर्नसक्ने बताउने गरेका छन् । अमेरिकी तथा संयुक्त राष्ट्रसंघीय प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरह्यो ।
यिनै कारण चीनका राष्ट्रपति सि जिन पिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन चर्चामा रहेका हुन् । एजेन्सी