पुस १५ महोत्तरी,
करिब दुई सातायता अत्यधिक रूपमा बढ्दै गएको शीतलहर एवं बाक्लो हुस्सुको समयमा न्यानोको अभावमा थरथर काँप्दै रात बिताउन बाध्य भएका महोत्तरी गौशाला नगरपालिका-७ महहर्वाका मुसहर समुदायले राहत पाएका छन् । शीतलहरबाट बच्नका लागि काठमाडौँस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले शुक्रबार सो बस्तीमै गएर करिब रु १० लाख बराबरको राहत सामग्री वितरण गरेको छ ।
डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा एकरात बिताएका सो बस्तीका गरिब मुसहर समुदायका दर्जनौँ घरपरिवारका सदस्यले आर्थिक अभावका कारण न्यानो लुगा लगाउन पाएका थिएनन् भने वृद्धवृद्धा रोग पालेर बसेका थिए । सो बस्तीमा बसोबास गर्दै आएका एक सय दुई परिवारलाई शीतलहरबाट बच्नका लागि कम्बल, म्याट, ट्रयाकसुट, दन्तमन्जन, चालमजस्ता सामग्री वितरण गरिएको हो । साथै सो बस्तीमा नगदसमेत वितरण गरिएको छ ।
तराई शीतलहरले पीडित रहेको समयमा आफूहरु पहाडबाट आएर सहयोग गर्न पाउँदा धेरै नै हर्षित भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष विजयबहादुर मालीले बताए । यता, राहत सामग्री पाएपछि सो बस्तीमा अहिले खुसियाली छाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।