१५ पुस रासस, असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्ने तथा बजारमा खुलारुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने विचार यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले बताउनुभएको छ ।बाल समाज मोरङद्वारा शुक्रबार आयोजित महिला यौन तथा प्रजनन स्वास्थ्य अधिकार जिल्लास्तरीय संवाद कार्यक्रममा वक्ताले लिंगको पहिचान गर्ने कार्यले बढी गर्भपतन गराइने समाजमा विकृति उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेलले कानूनले निर्दिष्ट गरेअनुसार सुरक्षित गर्भपतन गराउन आग्रह गर्नुभयो ।
मोरङ जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले बाल यौन शोषणका अपराधीलाई कानूनको दायरामा ल्याउने कार्यमा सहयोग गरिने बताउनुभयो । विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले असुरक्षित गर्भपतनबाट हुने जोखिम तथा भविष्यमा हुने असरका सम्बन्धमा युवालाई शिक्षित गराउनुपर्ने बताउनुभयो ।
मोतीयाबिन्दुरहित महानगर
रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले ३५ वर्षका अवधिमा १४ लाख ७४ हजार ८४१ जनालाई आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गरेको छ । उक्त अस्पतालको शुक्रबार आयोजित साधारणसभामा आव २०७२÷०७३ मा ६२ हजार ७३६ जनाको आँखाजाँच गरिएकामा पाँच हजार ५२६ जनाको शल्यक्रिया र आव २०७३÷०७४ मा ६७ हजार ४४१ जनाको आँखाजाँच गरिएकामा छ हजार ७५ जनाको शल्यक्रिया गरिएको जानकारी दिइएको छ ।
महानगरपालिकाका उपप्रमुख कार्कीले महानगरपालिकाले मोतीयाबिन्दुरहित महानगर बनाउने अभियान सञ्चालन गरिसकेको जानकारी दिनुभयो । सभामा अस्पतालका अध्यक्ष लोकमान गोल्छाले अस्पतालले पु¥याएको सेवासुविधाका बारेमा जानकारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।