१४ पुष,राष्ट्रिय योजना आयोगले आफ्नै लगानीमा विद्युतीय गाडी खरिद गरेको छ । मुलुकबाहिरबाट आयात गरिने डिजेल, पेट्रोललगायत इन्धन खपत कम गर्न तथा वातावरण प्रदूषण कम गर्न सुरुवाती संकेतस्वरुप आयोगले विद्युतीय भेहिकल खरिद गरेको हो ।
आयोगले आफ्नै परिसर सिंहदरबारमा शुक्रबार उक्त गाडी सार्वजनिक गरेकोे छ । कार्यक्रममा आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पहिलो पटक सरकारी निकायले विद्युतीय गाडी खरिद गरेको बताए । “यसलाई हामीले सांकेतिक रुपमा सरकारी तवरबाट गाडीमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत घटाउने तथा वातावरणमैत्री सवारी साधनको प्रायोगको प्रारम्भको रुपमा प्रस्तुत गरेका छौं,” उनले भने “पेट्रोलको लागि डेढ खर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । त्यस्तो व्यापारघाटालाई रोक्न विद्युतिय गाडीको प्रयोगले सहयोग गर्नेछ ।”
आयोगले खरिद गरेको उक्त गाडीको मूल्य ५५ लाख रुपैयाँ रहेको छ । उक्त गाडी १ पटक ब्याट्री चार्ज गरेमा ४ सय किलोमिटरसम्म गुड्छ भने गाडीमा प्रयोग भएको ब्याट्रीको २० वर्ष वारेन्टी कम्पनीले दिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभामा निर्वाचित भएका गगन थापा र रविन्द्र अधिकारीले सरकारी निकायले विद्युतिय गाडी चलाउन गरेको सुरुवातको प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।