१४ पुष,नेपालमा पहिलो पटक पूरै शरीरको रेडियोथेरापी गरिएको छ । प्राविधिक भाषामा टोटल बडी इरेडियसन (टीबीआई) भनिने यो विधि प्रयोग गरेर रक्तक्यान्सर भएका बिरामीलाई बोन म्यारो ट्रान्सप्लान्टका लागि तयार गरिन्छ । निजामती कर्मचारी अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न तयारीमा रहेकी एक महिलालाई नालारोड ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा टीबीआई गरिएको अस्पतालले जनाएको छ । क्यान्सर सेन्टरमा रहेको आधुनिक एलेक्टा सिनर्जी लिनियर एक्सिलिरेटरमा सो उपचार गरिएको थियो ।

एकैपटक पूरै शरीरको रेडियोथेरापी गर्न थालिएपछि अब बोनम्यारो ट्रान्सप्लान्ट गर्ने तयारीमा रहेका रक्तक्यान्सरका बिरामीलाई अत्यधिक मात्रामा औषधि प्रयोग गर्न जरुरी नहुने निजामती अस्पतालका रक्तक्यान्सर विशेषज्ञ डा. विशेष पौडेलले जानकारी दिए ।

दुई वर्षअघि भक्तपुरको ताथलीमा स्थापित काठमाडौँ क्यान्सर सेन्टरले छोटो समयमै नवीनतम रेडियोथेरापी प्रविधिहरु प्रयोग गरेर क्यान्सर बिरामीको सेवा गरिरहेको छ । अब टीबीआई गरेर लिम्फोमा, माइलोमा, अप्लास्टिक एनिमिया र रक्तक्यान्सर बिरामीको बोनम्यारो ट्रान्स्प्लान्ट गर्न निकै सहज भएको क्यान्सर रोग विशेषज्ञ डा. सुभाष पण्डितले बताए ।

टीबीआई प्राविधिक रुपमा साह्रै जटिल प्रक्रिया मानिन्छ । चिकित्सक, फिजिसिस्ट र प्राविधिक टोलीको दक्षताले कारण मात्र यो सेवा सुरु गर्न सकिएको काठमाडौं क्यान्सर सेन्टरका रेडिएसन अंकोलोजिस्ट डा. सीमित सापकोटाले बताए । #बाह्रखरी