तस्वीर गुगल

 पुस १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आफूहरुको मुख्य लक्ष्य भ्रष्टाचारलाई शून्य अवस्थामा पुर्‍याउने रहेको बताएका छन् ।
महोत्तरीको बर्दिबासमा अख्तियार भवनको शुक्रबार एक कार्यक्रमकाबीच शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

अख्तियारमा विभिन्न निकायका उजुरीहरुको संख्यामा निरन्तर बढोत्तरी हुँदै गएको भन्दै प्रमुख आयुक्त बस्न्यातले उजुरीहरुको छानबिनमा अख्तियार लागिरहेको बताए ।

प्रदेश सरकारपछि अख्तियारको कार्य थप जिम्मेवारीपूर्ण हुने बताउँदै उनले मुलुकलाई समृद्ध तथा भ्रष्टाचारमुक्त बनाउन सबैले मिलेर जानुपर्नेमा जोड दिए ।

देशका सातओटै प्रदेशमा अख्तियारको भवन निर्माणको कामलाई अगाडि बढाइएको उनले जानकारी दिए ।

कार्यक्रममा अख्तियारका सचिव राजन खनालले मुलुकलाई भ्रष्टाचारमुक्त गराउन आफूहरु लागिपरेको जिकिर गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख श्यामराज अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन पेस गर्दै दुई वर्षमा निर्माण सम्पन्न हुने गरी बर्दिबासमा दुईओटा भवन बनाउन लागिएको जानकारी दिए ।

उनले बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा १३ कट्ठा ८ धुर क्षेत्रफलको जग्गामा कार्यालयतर्फ दुईतल्ले र प्रहरी भवनतर्फ तीनतल्ले गरी दुईओटा भवन निर्माण हुने बताए ।सो भवन निर्माणको कुल लागत १३ करोड ९० लाख ६४ हजार १२७ रुपैयाँ रहेको जनाइएको छ ।