हेटौँडाको माछा प्लानमा पल्टिएको अटो (बाँया) हेटौँडाको मनकामना जाने बाटोमा पल्टिएको अटो (दाँया) तस्बिर : खबरब्रेक तथा भिमसेन पौडेल

हेटौँडा,१४ पुस,
पछिल्लो समय मकवानपुरको हेटौँडामा सानो सवारीको रुपमा प्रवेश गरेको अटोको यात्रा निकै असुरक्षित बन्दै गएको छ । पछिल्लो एक महिनाको अवधिमा अटो मकवानपुरको हेटौँडामा मात्र एक दर्जन भन्दा धेरै अटो दुर्घटनामा परेका छन् ।

अटो दुर्घटनाको कारण मृत्यु नभएको भएपनि घाईते हुनेको संख्या बढदै गएको छ ।
गत पुसको पहिलो हप्ता मकवानपुर गढीबाट हेटौँडा आउँदै गरेको अटो तिब्र गतिको कारण दुर्घटनामा पर्दा शुभाष पौडेल घाईते भए ।
त्यसको दुई दिन पछाडीनै चौँघडाबाट हेटौँडा आउँदै गरेको अर्को अटो दुर्घटना हुँदा निर्मला राई तथा कामना बुढाथोकी घाईते भए ।

हिजो राती मात्र हेटौँडाको माछा प्लानमा दुर्घटना भएको अटोमा केहि यात्रु घाईते भएको खबर आयो । यसरी दिनानुदिन अटो दुर्घटना हुँदा समेत स्थानीय प्रशासनले वास्ता नगरेपछि अटो चालकहरुले लापरबाहीलाई थप बढाएको घाईते पौडेलको भनाई रहेको छ ।