पुस १३, सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण पक्षघात ब्यहोर्न बाध्य बिरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यस्ता बिरामीको दैनिक जीवनयापन सहज बनाउन पाँच हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको हो ।
अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीलगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने रकमको जोहो चुरोट तथा सूर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।
सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
यसैगरी मन्त्रिपरिषदले स्वास्थ्य सचिवमा डा। पुष्पा चौधरीलाई नियुक्त गरेको छ । मन्त्रालयकी प्रमुख विशेषज्ञ चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।