भैरहवा ग्लाडिएटर्स ललितपुर प्याट्रिएट्सलाई ३ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडिएटर्सका लागि रोहित कुमार पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइलमा पुर्याए ।
अन्तिम ओभरमा १३ रनको आवश्यकता हुँदा रोहितकुमार पौडेलले पहिलो बलमा नै छक्का प्रहार गरे । दोस्रो बलमा पनि लगातार छक्का प्रहार गर्दै उनले स्कोर लेभल बराबरी बनाएका थिए । अन्तिम ओभर सकिन ३ बल बाँकी छँदै रोहितले आफ्नो टिमलाई फाइनलमा पुर्याए ।
रोहितले १७ बलमा २ छक्का र १ चौका प्रहार गर्दै नटआउट २८ रन बनाए । भैरहवाका लागि प्रथम सालुंकेले ३२ रन बनाएका थिए । उनले २२ बलमा ३ छक्का र ३ चौका प्रहार गरेका थिए । सन्दिप लामिछानेको बलमा आउट भएकै ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, भैरहवाका लागि भुपेन्द्र थापाले १९ रन बनाएका थिए ।
ललितपुरका लागि ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन दिएर २ विकेट लिए ।
यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले सुरुवाती भने राम्रो गरेको थियो । ललितपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाउन सक्यो । ललितपुरका लागि जयकिसन कोल्सवालाले उत्कृष्ट ब्याटिङ गर्दै ४२ रन बनाए । उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
ललितपुरका लागि दिपेश भण्डारीले अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टिमलाई उकासेका थिए । उनले अन्तिम ओभरमा मात्रै २० रन बनाएका थिए । उनले ९ बलमा २ छक्का २ चौका प्रहार गर्दै २२ रन बनाए । त्यस्तै, ललितपुरका लागि सुन्नी पटेलले २४ र कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । भैरहवाका लागि पुनित मिश्रले २ विकेट लिए ।
ईपीएलको फाइनल शनिबार हुनेछ । फाइनलमा उपाधिका लागि भैरहवा र विराटनगर वारियर्स आमनेसामने हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।