हेटौँडा,१२ पौष ।
मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङ्मा बालविवाह, वहुविवाह, बालश्रम, मानव बेचविखन,बालयौन दुव्र्यवहार तथा महिला हिंसा विरुद्घ क्रियाशील रहने सामुहिक प्रतिबद्घता जनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, आमभञ्ज्याङ्को आयोजना, प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोग तथा बाल कल्याण समाज मकवानपुरको प्राविधिक सहयोगमा आमभञ्याङ्को बागदलीमा आयोजित पुरुष वर्गलाई लक्षित गरेर लैङ्गिक हिंसा अन्त्यका लागि पुरुषको सहभागिता र योगदान विषयक एक दिवशीय अभिमुखीकरणमा सहभागी भएका स्थानीयले यस्तो प्रतिबद्घता व्यक्त गरेका हुन् ।
अभिमुखीकरणमा सहभागी भएपछि महिलालाई हेर्ने आफ्नो दृष्टिकोण नै परिवर्तन भएको भन्दै उनीहरुले प्रतिबद्घतापत्रमा हस्ताक्षर नै गरेका छन् । ‘पुरुष र महिला बिच विभेदका कारण नै समाज अगाडी बढ्न सकेको छैन ।’ अभिमुखीकरणमा सहभागी स्थानीय कृष्णप्रसाद घिमीरेले भने,‘समुदायमा समस्याका रुपमा रहेका बालविवाह, वहुविवाह, बालश्रम, मानव बेचविखन,बालयौन दुव्र्यवहार, महिलाहिंसा लगायतमा जागरणको खाँचो भएकाले नै सामुहिक प्रतिबद्घता जनाइएको हो ।’
प्रतिबद्घता केवल प्रतिबद्घतामा मात्र सिमित नराखी पूर्ण कार्यान्यनका लागि पनि आफूहरु लागिपर्ने उनी बताउँछन् । ‘एउटा कार्यक्रमको अवसरमा गरिएको प्रतिबद्घता हो भनेर चुपचाप बसिने छैन, आवश्यकता बमोजिम समाज जागरणको अभियानमा लागिनेछ ।’ उनले भने ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टीकाप्रसाद दाहालले गाउँमा हुने साना जागरणका अभियानले पनि मानिसमा चेतना बढाउँने बताउँदै सामुहिक रुपमा गरिने प्रतिबद्घताले समाज रुपान्तरणका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘लैङ्गिक हिंसा गर्नुहुन्न भनेर थाहा भएकाहरुबाट पनि हिंसा हुने गरेको पाइन्छ । तर बेलाबेलामा मानिसको चेत खुलाउन जागरणमूलक अभियानले आवश्यक पर्छ ।’ उनले भने । आफ्नो नेतृत्वमा रहेका वडामा सबै क्षेत्र र वर्गको अधिकारका लागि सबैसंग समन्वय गरेर काम गर्ने उनले प्रतिबद्घता पनि व्यक्त गरे ।
अभिमुखीकरणमा सहभागी भएका ३६ जना पुरुष र २ जना महिलाले आफूहरु अब सामाजिक अभियानमा लागिपरेको बताउँदै आफू कुनै हिंसा, दुव्र्यबहार जस्ता कार्यमा सहभागी नहुने र अरुबाट पनि हुन थालेमा रोक्ने प्रतिबद्घता जनाएका हुन् ।
अभिमुखीकरणमा सहजीकरण गरेका बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक एवम् मेनइन्गेज एलाइन्सका केन्द्रीय सल्लाहकार प्रकाश खतिवडाले गाउँमा लैङ्गिकतामा आधारित हिंसाविरुद्घ आवाज उठाउने सामाजिक अभियन्ता तयार हुँदा आफूलाई खुशी लागेको बताए । ‘हामी लामो समयदेखि बालअधिकार, महिला अधिकार, किशोरकिशोरी लगायतका सवालमा काम गर्दै आइरहेका छौं । ’ उनले भने, ‘हामी त्यतिखेर आफ्ना अभियान सफल भएको ठान्छौं जब समुदायका मानिसमा यसरी स्वःस्फुर्त रुपमा सामाजिक विकृत विरुद्घ लाग्ने भावना जागृत हुन्छ ।
’ बालअधिकारकर्मी खतिवडाले आफूहरुको संस्थाले जिल्लाका सबै सरोकारवालाको समन्वयमा गाउँगाउँमा विभिन्न सामाजिक जागरणका अभियान सञ्चालन गरिरहेका पनि बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।