तस्वीर गुगल

१२ पुस । पोखरा रंगशालाको पुरानो संरचना भत्काउन सुरु भएको छ ।पोखरा रंगशालाको फुटवल ग्राउण्ड नयाँ बन्ने भएपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा गठित भीम शर्मा संयोजकत्वको समितिले बुधबारदेखी पुरानो संरचना भत्काउन लगाएको हो ।

पोखरा रंगशाला भत्काउने जिम्मा जेभिए कन्सट्रक्सन काठमाडौंले लिएको छ । डेढ महिनामा भत्काइसक्ने गरी जेभिए कन्सट्रक्सन प्रालिलाई ४२ लाखमा भत्काउने जिम्मा दिइएको अध्यक्ष पौडेलले बताए । उनले भने,’बढीमा डेढ महिनामा भत्काईसक्ने गरी सम्झौता भएको छ, तर हाम्रो आग्रह भनेको जतिसक्दो चाँडो भत्काई सकोस् भन्ने हो ।’बुधबार विहानदेखि फुटवल मैदानको पूर्व पट्टीको दर्शक बस्ने प्याराफिट भत्काउन सुरु गरिएको छ ।

दर्शक बस्ने प्याराफिट भत्काईसकेपछि पश्चिम पट्टीको पाहुना बस्ने भिआइपी प्याराफिट भत्काउन सुरु गर्ने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

प्याराफिट भत्काउन हाल १० जना मजदुर खटिएका छन् । डोजरको प्रयोग बिनानै मजदुर प्रयोग गरेर प्याराफिट भत्काउने काम भइरहेको छ ।करिब ४ हजार दर्शक अटाउने क्षमताको पोखरा रंगशालाको फुटवल हेर्ने दर्शक प्याराफिट २०३८ सालमा निर्माण गरिएको थियो ।

२०७२ साल बैशाख १२ गते आएको भुकम्पबाट रंगशालाको दर्शक प्याराफिट चर्किएर जोखिमयु्क्त भएको र भिआइपी प्याराफिट बस्नै नमिल्ने भएर भत्किएपछि रातो स्टिकर टाँसिएको थियो ।

यद्वपी रातो स्टिकर टाँसेपनि त्यहाँ ठूलठूला फुटवल प्रतियोतियोगिता हुँदा भिआइपी र दर्शक प्याराफिट दुबैमा क्षमता भन्दा पनि बढी दर्शक बस्ने गरेका थिए । जुन जोखिमयुक्त मानिदै आएको थियो ।

डेढ अर्बको लागतमा नयाँ फुटवल रंगशाला बनाइने

पोखराको रंगशाला भित्र रहेको फुटवल स्टेडियम नयाँ बनाइने भएको छ । अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने योजना अन्तर्गत हाल पुरानो संरचना भत्काउने कार्य भइरहेको हो ।

भत्काइसके लगत्तै अत्याधुनिक फुटवल स्टेडियम बनाउन सुरु गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

उनका अनुसार नयाँ रंगशाला १ अर्ब ३३ करोडको लागतमा अत्याधुनिक तथा सुविधा सम्पन्न स्टेडियम बनाइने छ । नयाँ फुटवल स्टेडियम ३० हजार दर्शक क्षमताको हुने अध्यक्ष पौडेलले बताए ।रंगशाला निर्माणका लागि ६ वटा कम्पनीलाई ग्लोबल टेण्डरबाट सूचिकृत गरिसकिएको छ ।

उनका अनुसार चीनको जेटिएसजे र कालिका जेभी नेपाल संयुक्त, चिनको कोवेक, भारतको महालक्ष्मी जेभी, चिनको हुनान तथा भारतको विकोई (संयुक्त), चिनको सिएमई कन्स्ट्रक्सन प्रोजेक्ट र भारतको ग्रेट स्पोर्टस् ईन्फा तथा फ्रान्सको अल्कोरलाई सूचिकृत गरिएको छ ।

सूचिकृत यी कम्पनी मध्ये क्षमता, दक्षता र अनुभवलाई हेरेर सर्बोत्कृष्ट कम्पनीलाई फुटवल स्टेडियम बनाउने जिम्मा दिइने पौडेलले बताए ।

नयाँ रंगशाला माघको अन्तिम साताबाट निर्माण गर्न शुरु गर्ने तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । ‘पुरानो संरचना सबै भत्काएर माटो सम्याएपछि निर्माणको जिम्मा पाएको कम्पनीलाई सुम्पिन्छा’-अध्यक्ष पौडेलले भने ।

उनका अनुसार नयाँ फुटवल स्टेडियम बनाउन १ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरिसकेको छ, बाँकी ३३ करोड अर्को आर्थिक वर्षमा निकासा हुनेछ ।

१३ औं दक्षिण एसियाली खेलकुद सुरु हुनुभन्दा अगाडि नै रंगशाला निर्माण गरिसक्ने अध्यक्ष पौडेलले बताए ।

१३ औं दक्षिण एसियाली खेलकुद २०१९ मार्चको दोश्रो साताबाट सुरु हुने यसअघि नै निर्णय भइसकेको छ ।[अनलाइनखबर बाट साभार गरियको]