११ पुस,उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले १२ वर्षदेखिको राजनीतिक सिन्डिकेट प्रणाली बन्द हुनुपर्ने बताएका छन् । राजनीतिक सहमतिका नाममा प्रमुख दलहरू कुनै निर्णयमा नपुगेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।

राप्रपा अध्यक्ष थापाले तीन तहकै निर्वाचन सम्पन्न भइसकेको बताउँदै अब विधिविधानअनुसार राज्य व्यवस्था सञ्चालन हुनुपर्ने बताए । ‘नयाँ संविधान कार्यान्वयनमा आएको दुई वर्ष भयो, संसद्को चुनाव पनि सकियो । अब विधिविधानअनुसार राज्य व्यवस्था सञ्चालन हुनुपर्छ,’ थापाले मंगलबार बिहान ट्विटमार्फत भनेका छन् ।

निर्वाचनको परिणाम आएको दुई सातापछि थापाले राजनीतिक गतिरोधबारे पहिलोपटक मुख खोलेका हुन् । थापा मकवानपुर १ मा प्रतिनिधिसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका हुन् ।

उनले संविधानको विवादमा कांग्रेस, एमाले, माओवादीलगायतका दल अल्झेको भन्दै अदालत जाने बाटो खुला रहेको बताएका छन् । ‘संविधानको व्याख्यामा विवाद वा चित्त नबुझे संविधानबमोजिम सर्वोच्च अदालतले टुंगो लगाउँछ । कथित सहमतिको नाममा १२ वर्षदेखि राजनीतिमा कायम सिन्डिकेट प्रणाली अब बन्द हुनुपर्छ,’ थापाले भनेका छन् ।

निर्वाचन आयोगले प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरिसकेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको आइसके पनि समानुपातिकतर्फको सिट संख्याबारे घोषणा गर्न बाँकी नै छ । जसका कारण नयाँ सरकार गठनमा ढिलाइ हुँदै गएको छ ।