११ पुष, बेलायत नियन्त्रित समुद्री क्षेत्रमा बेलायती युद्धपोत र रसियाली युद्धपोत आमनेसामने भएका छन् । बेलायतको रोयल नेभीका अनुसार क्रिस्मसका दिन रसियाली युद्धपोत बेलायती समुद्री क्षेत्रमा आमनेसामने भएका हुन् ।नेभीका अनुसार एचएमएस सेन्ट अल्बान्सले ‘राष्ट्रिय चासो’ को क्षेत्रमा रसियाली एडमिरल गोर्सकोभको गतिविधिमाथि नजर राखेको थियो ।रसियाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
रोयल नेभीका अनुसार पछिल्लो समय बेलायत नियन्त्रित समुद्रमा रसियाली सेनाको गतिविधि बढेको छ । हालै मात्र बेलायतले समुद्रमूनि रहेको इन्टरनेट केबलको सुरक्षामा रसिया चुनौति बनेको भन्दै चेतावनी दिएको थियो ।
डिफेन्स स्टाफका प्रमुख तथा एयर चिफ मार्सल सर स्टुअर्ट पिचले अघिल्लो महिना बेलायत र नेटोले सञ्चारको लाइनको सुरक्षामा जोड दिनुपर्ने बताएका थिए ।
उनले लाइनहरुमा क्षति पुगे त्यसले अर्थतन्त्रमा ‘तत्कालै र ठूलो असर’ पुर्याउने बताएका थिए ।समुद्रको फेदमा इन्टरनेटका केवलहरु रहेका छन् जसले विभिन्न देश तथा महाद्वीपलाई जोड्ने गरेको छ ।
रोयल नेभीले जारी गरेको वक्तव्यमा एचएमएस सेन्ट अल्बान्सले डिसेम्बर २३ मा बेलायती समुद्रमा नयाँ रसियाली युद्धपोत एडमिरल गोर्सकोभमाथि नजर राखेको उल्लेख गरिएको छ ।
बेलायती जहाज क्रिस्मसको दिनसम्म रसियाली जहाजमाथि नजर राख्न त्यहाँ तैनाथ गरिएको थियो । बक्सिङ डेको दिनमात्र उक्त जहाज पोर्टस्माउथ फर्किने बताइएको छ ।
रक्षा सचिव ग्याभिन विलियमसनले आफ्नो क्षेत्रको रक्षा गर्न वेलायत कहिले पनि नहच्कने बताउँदै आफ्नो क्षेत्रमा हुने अतिक्रमणलाई नसहने चेतावनी दिएका छन् ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।