नेपाल औषधिले लिमिटेडले सिटामोल उत्पादन पुनः थाल्दैछ । बन्द भएको सात वर्षपछि माघ दोस्रो सातादेखि उत्पादन शुरु गर्न लागेको हो ।औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीका अनुसार सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सकिएको छ । कच्चा पदार्थ आयात, प्याकेजिङ र वितरणका लागि कम्पनी छनोट गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ ।यसअघि गत असोजदेखि नै उत्पादन थाल्ने लक्ष्य थियो । तर, आवश्यक बजेट सममयै निकासा नभएका कारण ढिलाइ भएको सुवेदीले जानकारी दिए ।
२४ वैशाखदेखि कम्पनीले जीवनजल उत्पादन थालेको थियो ।पूर्ण सरकारी स्वामित्वको उक्त कम्पनीले ०६७ सालदेखि औषधि उत्पादन बन्द गरेको थियो । सुन्तलाको स्वादमा जीवनजल उत्पादन गरिरहेको छ, अहिले । यस्तै, कुनै स्वाद नराखी जीवनजल उत्पादन पनि गर्न लागेको छ ।
साथै, गुणस्तर नियन्त्रण र माइक्रोबायोलोजी शाखालाई जीएलपी मापदण्डअनुसार स्तरोन्नती गरिएको र २८ किसिमका अत्याधुनिक मेसिनहरु जडान गरिएको सुवेदीले जानकारी दिए ।
उद्योग पुनः सञ्चालन गर्न यसअघि नै अर्थ मन्त्रालयले ६ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराएको थियो । १२ करोड रुपैयाँ दिने भनिए पनि सरकारले निकासा गरेको छैन ।
सोही कारण औषधि उत्पादन द्रुत गतिमा अगाडि बढाउन अप्ठ्यारो भएको सुवेदीले बताए ।
सिटामोल उत्पादनका लागि आवश्यक ‘कम्प्रेसर मेसिन’ आइसकेको छैन । भारतबाट ल्याउन लागेको मेसिन छिट्टै आइपुग्ने सुवेदीले बताए ।
केही महिनापछि अन्य औषधिसमेत उत्पादन गर्ने कम्पनीको योजना छ । सरकारले निःशुल्क उपलब्ध गराउने आठ प्रकारका औषधि उत्पादनलाई कम्पनीले मुख्य प्राथमिकता दिएको छ ।
यो उद्योग ०२९ सालमा स्थापना भएको थियो, ०६७ देखि पूर्ण रुपमा बन्द थियो । निजी कम्पनीसँग प्रतिस्पर्धामा जान नसकेर ०५८ सालदेखि घाटामा जान थालेको थियो । बन्द हुनु अघिसम्म उद्योगले डेढ सय प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।