तस्वीर गुगल

११ पुस,ओमानका उद्योग तथा वाणिज्य सचिव अहमद हसन अल धिबले नेपालको उद्योग वाणिज्य क्षेत्रको प्रवर्द्धनका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।ओमानका लागि नेपालका राजदूत शर्मिला पराजुलीसँग सोमबार भएको भेटमा उनले दुवै देशबाट आयात–निर्यात बढाउन सहकार्यका प्रशस्त सम्भावना रहेका बताउनुभएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओमानका वाणिज्य सचिवले नेपाली उद्यमी व्यवसायीलाई नेपालका उत्पादन ओमानमा बिक्री वितरणको प्रबन्ध मिलाउन आग्रह गर्नुका साथै ओमान–नेपाल व्यावसायिक सम्मेलन आयोजनाका निम्ति सघाउने बताए ।

भेटमा कृषि, भौतिक पूर्वाधार तथा जलस्रोत र उत्पादनमूलक क्षेत्रमा लगानीका प्रचुर सम्भावना रहेका जानकारी दिँदै राजदूत पराजुलीले ती क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उनले नेपाली उत्पादनलाई भन्साररहित बजारसम्मको पहुँच उपलब्ध गराउन आग्रह गरे । उक्त दूतावासका अनुसार राजदूत पराजुलीले नेपालको पछिल्लो राजनीतिक परिवर्तन, निर्वाचनपछिको परिवर्तित सन्दर्भमा सामाजिक–आर्थिक विकासका निम्ति राजनीतिक दलहरुद्वारा व्यक्त प्रतिबद्धताबारे जानकारी दिए । रासस