तस्वीर रातोपाटी

१० पुष,महिला बेचबिखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ।

 

विगतदेखि नै चेलिबेटी बेचविखनमा संलग्न तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइविबीले गएको बुधबार वडा कार्यालयबाटै पक्राउ गरेको थियो। उनी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन।

महिला बेचबिखनको मुद्दा खेपिरहेको बेला गएको स्थानीय निर्वाचनमा तामाङ वडाध्यक्षमा विजयी भएका थिए। प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर १ का तीन जना महिलाले तामाङ विरुद्ध उजुरी दिएका खबर टेकराज थामीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले सुनबहादुर मानब बेचविखनको मुद्दामा पक्राउ परेका बताए। प्रहरीका अनुसार तामाङले भारतको नयाँदिल्ली, मुम्बई र कलकत्तामा गरी चार वटा यौनगृह सञ्चालन गर्दै आएका छन्।

तामाङ ०५३ सालमै मानव बेचविखनको अभियोगमा पक्राउ परेका थिए। त्यसयता उनी पटक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए।तामाङका छोरा रमेश तामाङ पनि मानव बेचविखन मुद्दामा नुवाकोट कारागारमा सजाय भोगिरहेका छन्।