पुस १०,एजेन्सी पूर्व विश्व नम्बर एक अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्स टेनिस कोर्टमा फर्कने भएकी छिन् । आमा बनेको करिब चार महिनापछि सेरेना कोर्टमा फर्कन लागेकी हुन् ।

सेरेना युएईको अबुधाबीमा हुने मुबाडाला विश्व टेनिस च्याम्पियनसिपको प्रदर्शनी खेलबाट टेनिस कोर्टमा उत्रने भएकी हुन् । डिसेम्बर ३० मा हुने प्रदर्शनी खेलमा सेरेनाले सातौं वरियताकी लाटभियाकी जेलेना ओस्टापेन्कोविरुद्ध मैदान उत्रँदै टेनिस कोर्टमा पुनरागमन गर्नेछिन् ।

च्याम्पियनसिपको अफिसियल वेबसाइडमा ३६ बर्षिय सेरेनाले भनेकी छिन्, “म निकै खुुसी छु, सेप्टेम्बरमा छोरी जन्मिएपछि म पहिलोपटक अबुधाबीको कोर्टमा खेल्दैछु ।” सेरेनाले गत सेप्टम्बरमा छोरी एलेक्सिस ओलम्पिया ओहानियनलाई जन्म दिएकी थिइन् । सेरेनाले नोभेम्बरमा एलेक्सिस ओहानियनसँग विवाह गरेकी थिइन् ।

विश्व टेनिसमा कीर्तिमानी २३ औं ग्राण्डस्लाम उपाधि जितेकी सेरेना गत बर्षको जनवरीपछि टेनिस कोर्टमा देखिएकी छैनन् । गत बर्षको जनवरीमा अष्ट्रेलियन ओपनको उपाधि जितेपछि सेरेना पहिलोपटक कोर्टमा उत्रने भएकी हुन् । उनले ७ पटक अष्ट्रेलियन ओपन जितिसकेकी छिन् ।