पुस १० चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले पर्सा जिल्लाको ठोरी प्रदेश नम्बर–३ मा गाभ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।पर्सा जिल्लास्थित ठोरी नाकाको सोमबार अवलोकन–निरीक्षणपछि ठोरी गाउँपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उनले यसअघि नै ठोरीलाई ३ नम्बर प्रदेशमा राख्ने भनिएपनि मधेस आन्दोलनका कारण हुन नसकेको बताए ।

अध्यक्ष दाहालले अब बन्ने सरकारको पहिलो प्राथमिकता नै ठोरीलाई ३ नम्बर प्रदेशमा गाभ्ने काम हुने बताउँदै यसअघि नै ठोरीलाई प्रदेश नम्बर–३ मा गाभिने सो गाउँपालिकाले सर्वसम्मत् निर्णय गरेकाले यसको कार्यान्वयनका लागि सहज भएको धारणा व्यक्त गरे ।

नाकाबन्दीका समयमा अत्यधिक पेट्रोलियम पदार्थ र खाद्यान्नसमेत सो नाकाबाट भित्रिएको स्मरण गर्दै उनले यो नाकालाई विकास गरी ठोरी–केरुङ मार्ग छिट्टै निर्माण गरिने बताए ।

अध्यक्ष दाहालले भने–‘त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ, यो निकै छोटो र उत्कृष्ट मार्ग बन्नेछ ।’

चुनावको विजय जुलुसका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग छिटो बन्ने निश्चित भएको उनले बताए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि माडी र बाँदरझुलाका जनतालाई धन्यवादज्ञापन गर्न जानेक्रममा अध्यक्ष दाहाल ठोरी पुगेका हुन् । रासस