१० पुष,श्रीलंकाविरुद्धको तीन खेलको टि – ट्वान्टी क्रिकेट सिरिजमा भारतले क्लिन स्विप गरेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ५ विकेटको जित निकाल्दै भारतले पाहुना टोलि श्रीलंकाविरुद्धको टि – ट्वान्टी सिरिजमा क्लिन स्विप गरेको हो ।

मुम्बईमा श्रीलंकाले दिएको १३६ रनको मध्यम लक्ष्य भारतले ४ बल बाँकी रहदा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । जितसँगै भारतले ३ खेलको सिरिज ३ – ० ले आफ्नो बनायो । सिरिजको पहिलो खेलमा भारतले श्रीलंकालाई ९३ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा भारत ८८ रनले विजयी भएको थियो ।

मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा श्रीलंकाले दिएको मध्यम लक्ष्य सहजै पुरा गर्ने क्रममा भारतका मनिस पाण्डयले ३२ तथा श्रेयस आयरले ३० रनको योगदान दिए । त्यस्तै कप्तान रोहित शर्माले २७ रन जोड्दा दिनेश कार्तिक १८ तथा महेन्द्र सिंह धोनी १६ रनमा अविजित रहे । श्रीलंकाका दासुन शनका र दुसमान्था चामेराले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३५ रन जोडेको थियो । श्रीलंकाका लागि अशेला गुणारत्नेले ३९ तथा दासुन शनकाले अविजित २९ रन जोडे । त्यस्तै सदिरा समराविक्रमाले २१ रन जोड्दा थिसरा परेरा, उपुल थारांगा र अकिला धनन्जयले समान ११ – ११ रन बनाए । भारतका जयदेव उनडकट र हार्दिक पाण्डयले समान २ – २ विकेट लिए । यस्तै डेब्यु खेलाडी वासिंगटन सुन्दर, मोहमद सिराज र कुलदिप यादवले समान एक एक विकेट लिए ।

यो टि – ट्वान्टी सिरिज गुमाएसँगै भारत भ्रमणमा रहेको श्रीलंका ट्रफीविहिन घर फर्किएको छ । एक महिना यता भारतमा रहेको श्रीलंकाले घरेलु टोलिविरुद्धको तीन खेलको टेष्ट सिरिज १ – ० ले गुमाएको थियो । त्यस्तै तीन खेलको एकदिवसीय सिरिज पनि श्रीलंकाले २ – १ ले गुमाएको थियो ।एजेन्सी