

पुस १०,काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा रहेका ग्यास उद्योग जोखिम अवस्थामा रहेको पाइएको छ ।प्रमुख जिल्ला अधिकारी शिव सिंखडासहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा शर्त पालना नगरेको पाइएको छ ।
‘ग्यास उद्योग स्थापनामा सुरक्षाका हिसाबले लापरबाहीजस्तो देखिएको छ, त्यसैले उद्योग सन्चालकलाई बोलाएर छलफल गर्छौं’–प्रजिअ सिंखडाले भने ।उनले ‘अटोमेटिक फायर फाइरिङ सिस्टम’ नभएको, पानी पनि कम भएकाले सुरक्षाको दृष्टिकोणले जोखिम रहेको औंल्याउँदै अव्यवस्थितरुपमा ग्यास उद्योग सन्चालन भएको बताए ।‘कामदार पनि उद्योगमा बस्दैनन्, केही भइहाल्यो भने कहाँ खोज्न जाने’–उनले भने ।सगरमाथा ग्यास उद्योगका सावर मल्ल अग्रवालले उद्योग मापदन्डअनुसार नै भएको दाबी गर्दै भने–‘हामीले उद्योग सन्चालनमा ल्याउँदा यहाँ कोही थिएन, अन्य उद्योग पछि थपिएका हुन् ।’
वि।सं। २०५३ मा स्थापना भएको सो उद्योगले दैनिक दुई हजार ५०० देखि तीन हजार सिलिन्डरसम्म ग्यास उत्पादन गर्दै आएको छ । सो ग्यास उद्योगनजिकै सूर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योग सन्चालनमा छन् ।
बनेपाका व्यवसायी सुधीर पलाञ्चोके, विष्णुहरि कक्षपतिलगायतले सन्चालन गरेको सूर्य ग्यास उद्योग र पलाञ्चोकेलगायत अरुले साझेदारीमा सन्चालनमा ल्याएको चण्डेश्वरी ग्यास उद्योगमा आपत्कालीन समय र आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने पानीट्यांकी र उपकरण ‘अटोमेटिक फायर फायरिङ सिस्टम’समेत नभएको उद्योगमा कार्यरत् कर्मचारीले बताए ।
वि।सं। २०५८ मा उद्योग विभागमा दर्ता भएको सूर्य ग्यास उद्योगले २०६५ असारदेखि सूर्य ब्रान्डको ग्यास वितरण गर्दै आएको छ । २०६५ सालमा उद्योग विभागमा दर्ता भएको चण्डेश्वरी ग्यास उद्योगले २०६८ सालदेखि चन्डी ब्रान्डको ग्यास वितरण गर्दै आएको छ ।
सूर्य ग्यास उद्योगले दैनिक एक हजारदेखि एक हजार २०० सिलिन्डर र चन्डी ग्यासले दैनिक ८०० देखि एक हजार सिलिन्डर ग्यास बजारमा बिक्री–वितरण गर्दै आएको छ । यी तीनओटा उद्योग बनेपा नगरपालिका–१० थापा गाउँमा रहेका छन् ।
त्यस्तै, बनेपा नगरपालिका–१ नालामा उग्रचन्डी ग्यास उद्योग स्थापना भएको छ । सो उद्योग सन्चालनमा आएपछि विवाद हुँदै आएपनि उद्योगले ग्यास बिक्री–वितरण गर्दै आएको छ ।
उक्त उद्योग बस्तीनजिकै भएको भन्दै स्थानीयवासीले हटाउनका लागि संघर्ष समिति नै गठन गरेर सर्वोच्च अदालतलाई नै गुहारेका थिए । अहिले सो ग्यास उद्योगसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको संघर्ष समितिका अध्यक्ष विश्वराम श्रेष्ठ बताउँछन् ।
नेपाल आयल निगमको एलपी ग्यास विनियमावली, २०६५ ९संशोधनसहित० मा गाउँ–बस्तीभन्दा पाँच किमि र अरु उद्योग रहेको स्थानबाट पाँच किमिको दूरीमा हुनुपर्ने उल्लेख छ ।
तर, काभ्रेपलाञ्चोकको बनेपामा स्थापना भएका तीनओटा ग्यास उद्योग केही मिटरको वरिपरि नै सन्चालन भइरहेका छन् । पछि थप भएको ग्यास उद्योग पनि करिब एक किमिको आसपासमा रहेको छ ।
‘बस्तीनजिकै छ भनेर विरोध गरेका हौं, तर पछिल्लो समय कसैले पनि यो विषयमा बोलेका छैनन्’–बनेपा–१ का मुक्ति लामिछाने भने ।
बनेपामा रहेको अर्को हिमाल ग्यास उद्योगसहित पाँच उद्योग छन् । वीरगन्जस्थित सुपर ग्यास उद्योगमा दुईजनाको ज्यान जाने गरी भएको आगलागीपछि स्थानीयवासी त्रसित छन् । रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।