तस्वीर गुगल

१० पुस,एभरेष्ट प्रिमियर लिग (इपीएल)मा सोमबार काठमाडौं किंग्स एलेवेनलाई ८ रनले पराजित गर्दै विराटनगर वारियर्सले लिग चरणका सबै खेलमा जित हात पारेको छ।यसअघि खेलेका ४ खेलमा अपराजित विराटनगरले अन्तिम खेलमा सोमबार काठमाडौंलाई पराजित गर्दै १० अंकका साथ शीर्ष स्थानमा रहँदै लिग चरण टुंग्याएको हो।

योसँगै विराटनगर क्वालिफायरमा प्रवेश गरेको छ। विराटनगरले अब फाइनल प्रवेशका लागि लिग चरणमा दोस्रो हुने टोलीसँग खेल्नेछ।

विराटनगरले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनमा मात्रै समेटियो।

काठमाडौंका लागि कप्तान फरवेज महारुफले ४२ तथा नरेश बुढाऐरले ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन। बलिङमा विराटनगरका अंशुमन रथले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो।

विराटनगरको लागि विदेशी खेलाडी बाबर हयातले सर्बाधिक ६७ रनको पारी खेले। ५० बलको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए।

तेस्रो विकेटका लागि बाबरले अर्का विदेशी सहकर्मी अंशुमन राथसँग ७२ रनको साझेदारी गर्दै इनिङ्स अगाडी बढाएका थिए।ओपनर अंशुमनले टोलीका लागि दोस्रो सर्बाधिक स्कोर ३२ रन जोडे। उले २६ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै, कप्तान पारस खड्काले २६, अनिल साहले ७ रन जोडे भने बलिङ तर्फ काठमाडौंका सोमपाल कामी २ तथा अमरसिंह रौटेलाले २ विकेट लिए।यता, काठमाडौंले भने लिग चरणमा खेलेका ५ मध्ये १ खेल मात्र जितेको छ। २ अंकमात्रै जोडेको काठमाडौंको सम्भावना लगभग सकिएको छ।