पूर्वी एसिया । संयुक्त राष्ट्रसंघले केही दिनअघि थप कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसलाई युद्धकै एउटा अंश भएको प्रतिक्रिया दिएको छ । अमेरिकाको आग्रहमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले लगाएको नाकाबन्दीलाई उत्तरले युद्धकै एउटा भागको रुपमा हेरेको जनाएको हो ।
उत्तर कोरियाली विदेश मन्त्रालयले पूर्णरुपमा आर्थिक नाकाबन्दी लगाएको भन्दै अझै सशक्त रुपले आणविक परीक्षणलाई जारी राखेर अमेरिकालाई जवाफ दिइराख्ने जवाफ दिएको हो । प्योंगयांगको अन्तर्महादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणपछि कडा नाकाबन्दी लगाइएको थियो ।
अमेरिकाले तयार गरेको नाकाबन्दीको मस्यौदामा उत्तर कोरियाले आयात गर्ने पेट्रोलियम पदार्थ समेत ९० प्रतिशत कटौती गर्ने निर्णय गरिएको छ । यसअघि नै उत्तर कोरियामाथि अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली आयोगले कडा नाकाबन्दी लगाउँदै आएको छ ।
उत्तर कोरियाले पछिल्लो नाकाबन्दीलाई देशको सार्वभौमिकता र स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै उक्त कदम युद्धकै एउटा भाग भएको उल्लेख गरेको छ । उसले पछिल्लो नाकाबन्दीले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व भाँडिने चेतावनी समेत दिएको छ ।
उसले आफ्नो आणविक शक्ति अमेरिकाले देखिनसहेको भन्दै अझै परिष्कृत पार्दै लगिने दृढता समेत उत्तर कोरियाले व्यक्त गरेको छ । उसले भनेको छ, ‘हामी अझै आत्मरक्षात्मक आणविक परीक्षण र शक्तिवद्र्धनमा क्रियाशील छौँ, यो अमेरिकी युद्धाकांक्षाविरुद्ध आवश्यक भइसकेको पनि छ ।’
पछिल्लो नाकाबन्दीले वर्षका ५ लाख ब्यारेल्स पेट्रोल र क्रुड तेल ४० लाख ब्यारेल्स प्रतिवर्ष लैजान पाउनेछ । यसबाहेक विश्वका अन्य देशमा कार्यरत उत्तर कोरियालीले समेत २४ महिनाभित्र काम छोडी उत्तर कोरिया फर्किनुपर्नेछ । यस्तै उत्तर कोरियाली सामानहरु मेसिन, विद्युतीय सामानहरुमा पूर्ण प्रतिबन्ध लागेको छ । प्योंगयांगले गत २८ नोभेम्बरमा अहिलेसम्मकै लामो दूरीको ब्यालिष्टिक मिसाइल परीक्षण गरेको थियो ।बीबीसीबाट ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।