९ पुष,उत्तर कोरिया विश्वसँग सम्पर्क नराख्ने देश बताइन्छ तर आश्चर्यको कुरा अहिले पनि करिब ५० देशसँग उत्तर कोरियाले आफ्नो सम्बन्ध जारी राखिरहेको बीबीसीले जनाएको छ ।उत्तर कोरियाले यी देशहरुसँग कुनै न कुनै रुपले सम्बन्ध राखिरहेको भए पनि उनीहरुका बीच धेरै नजिकी वार्ता हुने गरेको छैन । त्यसमा पनि दिनदिनै यस्ता देशहरुको सङ्ख्या घट्दै गइरहेको छ ।

किनकी केही समय अघिदेखि अमेरिकाले विश्वका सबै मुलुकलाई उत्तर कोरियासँगको सम्बन्ध अन्त्य गर्न आग्रह गरिरहेको छ ।

सन् १९४८ देखि उत्तर कोरियाले ५५ देशहरुमा आफ्नो दूतावास र ४८ देशमा वाणिज्य दूतावास राखेको थियो । त्यसैले बेलायत, जमर्नी, स्वीडेनसहित २५ वटा देशमा अझै पनि उत्तर कोरियाको दूतावास रहेका छन् । त्यस्तै ऐतिहासिक समयदेखि साथ दिँदै आएका छिमेकी मुलुक चीन र रुससँग पनि उत्तर कोरियाको सम्बन्ध ठीकै रहेको बताइन्छ ।तर हालै अमेरिकी राजदूत निकी हेलेले संयुक्त राष्ट्रमा सबै मुलुकलाई सम्बन्ध टुङ्ग्याउन दबाब दिएपछि भने स्पेन, कुवेत, पेरु, मेक्सिको, इटली र म्यानमारले उत्तर कोरियाको दूतावासलाई हटाइदिएका थिए ।

अमेरिकाको लगातार दबाबकै कारण पोर्चुगल, युगांडा, सिंगापुर, संयुक्त अरब ईमिरेट्स र फिलिपिन्सले पनि सम्बन्ध तोडिदिएको हो । तरपनि विश्वका विभिन्न स्थानमा उत्तर कोरियाका दूतावास व्यापारका लागि मात्र भएपनि खुल्ला रहने बताइएको छ ।

यसैबीच कतिपय देशसँग उत्तर कोरियाले पहिलेको भन्दा बलियो सम्बन्ध बनाएको बताइएको छ । जस्तै कि कतिपय अफ्रिकी देशसँग उत्तर कोरियाले विभिन्न निर्माण सम्बन्धी योजनामा काम गरिरहेको छ । र ऊर्जा र कृषि क्षेत्रका बारेमा समेत छलफल गरिरहेको बताइएको छ । यति हुँदा हुँदै पनि यिनीहरु बीचको कूटनीतिक सम्बन्ध भने उस्तै रहेको बताइन्छ । अहिलेसम्म उत्तर कोरियासँग सम्बन्ध नराख्ने देशहरुमा चाहिँ जापान , दक्षिण कोरिया र अमेरिका मात्र पर्छन् ।