८ पुष,नेपाल इन्टरनेसनल सेरिज ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्समा नेपाली खेलाडी दिपेश धामी र शोभा गौचनको तथा तामाङ दिदीभाइ रत्नजित र नङसलको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् । धामी र गौचनको जोडीले माल्दिभ्सका एच जयन साहिद र एफ अब्दुल रजाकको जोडीलाई २१-१५, २१-१० ले पराजित गरे ।
यसैगरी अर्को क्वार्टरफाइनलमा तामाङ दिदीभाइ रत्नजित र नङसलको जोडीले पनि सेमिफाइनलमा स्थान बनाए । उनीहरुले भारतका तुसार शर्मा र सरुनी शर्माको जोडीलाई २१-१५, २१-१५ को सेटमा पाखा लगाए । पुरुष एकलमा भने भारतीय खेलाडीले दबदबा कायम गरेका छन् । शुक्रबार भएको खेलमा विजय हासिल गर्दै भारतका तीन खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।
शुक्रबार विहान भएको प्रिक्वार्टरफाइनलमा विजय हासिल गरेका नेपालका दिपेश धामी क्वार्टरफाइनल खेलमा भने पराजय बेहोरे । उनी भारतीय खेलाडी राहुल भारद्वाजसँग २१-१४, २१-११ पराजित भए । त्यसैगरी भारतकै एल सारङले भियतनामका फामलाई २२-२०, २२-२० ले स्तब्ध बनाए भने भारतकी एस जयसवालले भारतकै ए यादवलाई २१-१०, २२-२० मा पाखा लगाए । अर्को क्वार्टरफाइनलमा भियतनामका ली डक फातले इन्डोनेसियाका मार्टिनलाई २१-१८, १६-२१, २१-१८ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको महिला एकलमा भियतनामकी थी थ्राङले भारतकी इरा शर्मालाई १७-२१, २४-२२, २१-१८ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन् । त्यसैगरी हङकङकी डेङ जोय जुजानले पनि भारतकै शैली रेनलाई २१-१३, २१-१५ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन् । महिला युगलमा भारतकी बी बैयलपुदी र भासा बेल्वाडेको जोडीले मलेसियाका दर्सिनी भासिगरान र जयसिनी भासिगरानको जोडीलाई १६-२१, २१-११, २१-२० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।