तस्वीर गुगल

पुस ८,एभरेष्ट प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा विराटनगर वारियर्स विजयी भएको छ । विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गरेको हो ।

विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवालाई १८ ओभर ३ बलमा १ सय १४ रनमा अलआउट भएपछि विराटनगर ३५ रनले विजयी भयो । विराटनगरको यो लगातार चौथो जित हो । भैरहवालाई हराउन अविनाश कर्णले ४ र वसन्त रेग्मीले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । विराटनगरका लागि हङकङका खेलाडी अंशुमन रथले ५७ र बाबर हायातले ३७ रन बनाए । त्यस्तै कप्तान पारस खड्काले १५ र प्रनित थापामगरले १४ रनको योगदान गरे । करण केसी ११ रनमा नटआउट रहे । भैरहवाका लागि हरिशंकर साहले ३ र आरिफ शेखले २ विकेट लिए ।

विराटनगरबाट खेलिरहेका हङकङका खेलाडी यो प्रतियोगितामै सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा शिर्षस्थानमा छन् ।

हङकङका खेलाडी बावर हायत यो प्रतियोगितामा १ सय ७३ रन बनाएर धेरै रन बनाउने खेलाडीको शीर्षस्थानमा छन भने हङकङकै अर्का खेलाडी अंशुमन रथ १ सय ७२ रन सहित दोस्रो स्थानमा छन् । पारस खड्काको कप्तानीमा रहेको विराटनगर अहिलेसम्म अपराजित रहँदै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ ।