७ मंसिर, कालीकोट । म्यादी प्रहरीको तलब कटाईएको भन्दै कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

आफुहरुको तलव कटाइएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो । झडपको क्रममा प्रहरीले चलाएको गोली लागि सान्नी त्रिवेणी गाउँपालिका तिकुवा निवासी विवेक ऐडीको मृत्यु भएको छ । सरकारले तोकेअनुसारको तलब नपाएपछि आक्रोशित भएर नाराबाजी गरेका म्यादी प्रहरीमाथि सुरुमा प्रहरीले अश्रुग्यास हानेको थियो ।

तर भीड नियन्त्रण नभएपछि प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको ज्यान गएको हो । चुनावको सुरक्षाका लागि कालिकोटमा ९ सय १३ जना म्यादी प्रहरी खटिएका थिए । सरकारले ५५ दिनका लागि भर्ना गरेका म्यादी प्रहरीलाई प्रहरी जवान सरह सेवा सुविधा दिने निर्णय गरेको थियो ।

जस अनुसार कालिकोटमा म्यादी प्रहरीले एकमुष्ट ५८ हजार रुपैयाँ पाएका थिए । तर जुम्लाका म्यादी प्रहरीलाई हिमाली जिल्ला भन्दै ६५ हजार रुपैयाँ प्रदान गरिएको थियो । जुम्लाका म्यादी प्रहरीले सरह ६५ हजार रुपैयाँ पाउनु पर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा देशैभर खटिएका म्यादी प्रहरीलाई शुक्रबार बिदाई गरिएको छ । पहिलो र दोस्रो चरणको चुनावका लागि देशैभर ९८ हजार एक सय ६८ म्यादी प्रहरी खटाइएको थियो ।