२०७४ पौष ७ नेपालमा मात्रै खेलाइने एकमात्र अन्तर्राष्ट्रियस्तरको खेल ‘हात्ती पोलो’ यस वर्षदेखि बन्द गर्ने घोषणा भएपछि यो खेल इतिहासमै सीमित हुने भएको छ ।विश्वभर जनावरको अधिकारका विषयमा चर्को बहस भएपछि ३५ वर्षअघिदेखि आयोजना हुँदैआएको यो खेल इतिहास बन्न लागेको हो ।संसारभर हात्ती सफारीविरुद्ध आवाजहरु उठ्न थालेपछि र केही ट्राभल एजेन्सीले नै हात्ती सफारी गर्न रोक लगाएपछि कुनै पनि जनावरलाई दुःख दिनु गलत भएको ठहर गर्दै आयोजकले प्रतियोगिता बन्द गर्ने निर्णय गरेको हो ।
‘दुई वर्षदेखि पर्यटकलाई हात्ती सफारीसमेत बन्द गर्दै आएका छौ’, टाइगर टप्स जंगल लजअन्तर्गत थारु भिलेजका प्रबन्धक डीबी चौधरीले भने ।
निकुञ्जभित्र रहेको होटलको आयोजनामा मैघौली एयरपोर्ट मैदानमा हात्ती पोलो हुने गरेको थियो । सो खेल पछिल्लो समय व्यापक हुँदै अन्य ठाउँमा समेत हुन थालेको थियो ।
चितवन निकुञ्ज भित्र रहेको टाइगर टप्स होटलको सहयोगमा विश्व हात्ती पोलो संघ (वेपा)ले सन् १९८२ देखि सो प्रतियोगिता अयोजना गर्दै आएको थियो ।
केही समय टाइगर टप्सकै व्यवस्थापनले बर्दिया निकुञ्जमा सञ्चालन गरेको कर्णाली लजको संयोजनमा हात्ती पोला विश्व कप प्रतियोगिता बर्दियामा भएको थियो । त्यसपश्चात् सो प्रतियोगिता नवलपरासी बाघखोरको गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनको मैदानमा सञ्चालन हुँदै आएको थियो ।
टाइगर टप्सकै व्यवस्थापनमा नवलपरासी डण्डाबजारदेखि तल बाघखोरमा थारु भिलेज नामको पर्यटकीय रिसोर्ट सञ्चालनमा छ । टाइगर टप्सका तत्कालीन सञ्चालक जिम एडवर्डले आफ्नो होटलमा आउने विदेशी पर्यटकहरुलाई सामेल गराएर यो खेलको सुरूवात गरेका थिए । जिमको केही वर्षअघि नै निधन भइसकेको छ ।
टाइगर टप्स समूहले सञ्चालन गरेको होटलमा युरोप, अमेरिकाका निकै नै धनाढ्य र खर्चालु पर्यटकहरु आउने गर्छन् । तिनै पर्यटकहरुलाई मनोरञ्जन दिन जिमले यो नौलो खेलको सुरूवात गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।