तस्वीर गुगल

७ पुष,उत्तर कोरियाका अर्का सैनिक पनि बिहीबार दक्षिण भाग्ने प्रयासमा सफल भएका छन् । यस क्रममा उनलाई उत्तर कोरियाली सेनाले २० गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । यस भन्दा अघि पनि एक सैनिक भयानक अवस्थामा दक्षिण भाग्न सफल भएका थिए । उनीमाथि ४० गोली प्रहार भएको थियो ।

गोली लाग्नुका साथै उनी अन्य गम्भीर रोगबाट समेत ग्रसित भएको पत्ता लागेपछि उनको दक्षिणमा अझै उपचार भइरहेको बताइएको छ ।

यसवर्षमा मात्रै उत्तर कोरियाली सेना यसरी दक्षिण भाग्ने प्रयास गरेको यो चौथो पटक हो । यसबाहेक अन्य दुई सैनिकले पनि डुङ्गाको मद्दतले बुधबार उत्तर कोरियाको सीमा पार गरेको दक्षिणका अधिकारीले बताएका थिए ।

विश्वकै सबैभन्दा कडा सुरक्षा र भारी सङ्ख्यामा सुरक्षाकर्मी भएको उत्तर कोरियाको सीमाबाट बाहिर निस्किनु धेरैका लागि असम्भव कुरा हो । तर सीमा क्षेत्रवरिपरि लागेको बाक्लो कुहिरोले उनलाई भाग्न सहयोग पुर्याएको सिओलको सुरक्षा विभागले बताएको हो । त्यसलगत्तै भागेका ती सैनिकको खोजीमा उनकापछि उत्तर कोरियाका एक किशोर सैनिक पनि सीमा वरपर देखा परेको बताइएको छ ।

अहिलेसम्म ३० हजार भन्दा बढी उत्तर कोरियाली  नागरिक चीनको सीमाना हुँदै दक्षिण कोरिया भित्रिसकेका छन् । यस घटनाका बारेमा उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।