एजेन्सी इंग्लिश प्रिमियर लिगको डर्बी क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी इंग्लिश फुटबल फेडेरेसन (एफए) को कारबाहीबाट बचेको छ । म्यानचेस्टर डर्बी भिडन्तपछि ड्रेसिङ रुम र रंगशालाको टनेलमा भएको गलत कार्यपछि दुवै क्लब कारबाहीबाट बचेका हुन् ।
ओल्ड ट्राफोर्डमा गत डिसेम्बर १० मा भएको डर्बी भिडन्तमा म्यानचेस्टर सिटीले २ – १ को जित निकालेको थियो । जितपछि सिटीले दोस्रो स्थानको युनाइटेडमाथि लिगमा ११ अंकको अग्रता समेत कायम गरेको थियो ।
उक्त डर्बीपछि ड्रेसिङ रुममा युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले हारको रिसमा पानीको बोतल र दुधको प्याकेटहरु फालेका थिए । उक्त बोतलले लागेर सिटीका कोच माइकल अर्टेटाको टाउको पछाडी भागमा चोट लागेको थियो । त्यसपछि दुवै टोलीबाट दुधका प्याकेट फालाफाल भएको थियो । यस्तै युनाइटेडका प्रशिक्षक मोरिन्होले पोष्ट म्याच कन्फरेन्समा म्याच रेफ्री तथा अफिसियलले खेल हराएको आरोप लगाएका थिए ।
उक्त घटनापछि एफएले अनुसन्धान गरेको थियो । एफएले ३० खेलाडी, क्लब ग्राउण्ड स्टाफ र स्वतन्त्र प्रतक्ष्यदर्शीसँग सोधपुछ गरेको थियो । अनुसन्धानपछि दुवै क्लबलाई कारबाही आवश्यक नरहेको एफएले जनाएको छ ।
एफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्लबले प्रदान गरेको सबुत र स्वतन्त्र प्रतक्ष्यदर्शीको भनाईको आधारमा एफएले डर्बी भिडन्तपछि भएका घटनामा कुनै क्लबले कारबाही भोग्नु पर्ने छैन ।” तर, एफएले दुवै क्लबलाई कारबाही नगरेपनि युनाइटेडका प्रशिक्षक मोरिन्होलाई भने यस्ता कार्य नगर्न चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।