मनहरी–‘केही दिनअघि मनहरीका क्रसर उद्योगहरु बन्द गर्ने हल्ला चल्यो । बन्द पनि भए, गरिए । मैले बुझ्दा माथिको आदेश भन्ने जबाफ आयो ।’, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने–‘यो माथि भन्या को हो ? कति माथि हो ? कि सौर्यमण्डल नै हो ?’
ज्यामिरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको नवौ बार्षिक साधारण सभामा प्रमुख अतिथि भएर मनहरी ७ रमौलीस्थित सभाहलमा उनले यस्तो भनिरहँदा हलमा हाँसो गुन्जियो । तर, उनी बोल्न छाडेनन्–‘पछि बुझ्दा त प्रहरीको एआइजी मनहरी हुँदै कतै गएका रहेछन्, उनले देख्ला भनेर पो क्रसर उद्योग बन्दको नाटक गरिएको रहेछ ।’ उनले यति भनेपछि ज्यामिरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरु सहभागी हल गम्भीर भयो ।

त्यही मौकामा उनले भने,–‘एआइजी हिँड्दा बन्द हुने, नहिँड्दा खुल्ने कस्तो उद्योग हो त्यो ?’ प्रहरीसँग डराउनुपर्ने किन बाध्यता प¥यो क्रसर उद्योगहरुलाई भन्दै उनले प्रतिप्रश्न गरे–‘यदि अबैधानिक रुपमा चलेको हो भने त्यसलाई बैधानिक बनाऔँ, सँधै लुकिछिपी व्यवसाय गरेर जिन्दगी जाँदैन ।’
उप्रेतीले मध्यवर्ती क्षेत्रमा भइरहेका अबैध र अशोभनीय गतिविधिका कारण मनहरी गाउँपालिकाले शिर निहुराउने अबस्था आउन नहुने बताए ।

उनले मनहरी गाउँपालिकाको ६० प्रतिशत भूभाग मध्यवर्ती क्षेत्रमा रहेको भन्दै पर्सा राष्ट्रिय निकुन्ज, मध्यवर्ती क्षेत्र र गाउँपालिकाबीच समन्वय हुन नसक्नाले समस्या आइरहेको सुनाए । यसबारेमा स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, मनहरी गाउँपालिका, मध्यवर्ती व्यवस्थापन समितिबीच समन्वयका प्रयास भएपनि निकुन्जले एकोहोरो हिसावले व्यवहार गरेको आरोप लगाए ।

‘यहाँ निकुन्ज क्षेत्रमा बाघ गणना भइरहेको रहेछ, मनहरी गाउँपालिकालाई यो बिषय नै थाहा छैन ।’, उप्रेतीले भने–‘हामीले पनि बाघ जोगाउन भूमिका खेल्थ्यौँ तर जनताको सहभागिता किन निकुन्जले स्वीकार गरेन ?’ उनले निकुन्ज प्रतिनिधिलाई गाउँपालिकाको तर्फबाट गुनासोहरुको पोको लिएर वार्डेनलाई सुनाउन आग्रह गरेका छन् ।
निकै आक्रामक रुपमा प्रस्तुत भएका उप्रेतीले जनप्रतिनिधिलाई बाइपास गरेर जो कोही चल्न खोज्छ भने जनताले प्रतिरोध गर्ने समेत बताए ।

‘मध्यवर्ती क्षेत्रको गतिविधि मैले एकदशकदेखि हेरिरहेको छु’, उप्रेतीले भने–‘यो बीचमा किन साधारण सभाहरु भएनन्, कहाँ गयो मध्यवर्ती सहकारी ?जनतालाई हिसाव बुझाउनुपर्छ कि पर्दैन ?’
कार्यक्रममा बोल्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोपाल सुवेदीले सानातिना समस्याहरु पनि छलफलमा आएको भन्दै चिन्ता ब्यक्त गरे । उनले मध्यवर्तीका बारेमा जनतालाई मसिनो ढंगले बुझाउनुपर्ने आबश्यकता रहेको बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता रामहरि सुवेदी, मध्यवर्ती उपभोक्ता समिति पूर्व अध्यक्ष मुक्तिनाथ अधिकारी, निकुन्जका प्रतिनिधि किरण गिरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
समूहका सचिव दीपक पुलामीले स्वागतसहित प्रतिवेदनहरु प्रस्तुत गरेका सभाको सभाध्यक्षता समूहका अध्यक्ष सीताराम अर्यालले गरेका थिए ।

मनहरी डटकमबाट साभार